प्रचण्डसँगको भेटलगत्तै प्रधानमन्त्री ओली गृहमन्त्री थापा निवास पुगे

  • प्रकाशित मिति : December 19, 2020
  • नेपाल ज्योति

काठमाडौं-नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवास खुमलटारमा भेटेपछि प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य राम बहादुुर थापा बादललाई भेट्न पुल्चोक पुगेका छन् ।

यसअघि ओली प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए । अध्यक्षद्वयको छलफलमा उपाध्यक्ष बामदेव गौतम पनि पुगेका थिए । सत्तारुढ नेकपामा विवाद चर्चिकरहेका बेला सहमतिको प्रयास पनि तीव्र बनेको छ ।

हिजो बेलुका बालुवाटारमा पुगेका प्रचण्डलाई प्रधानमन्त्री ओलीले भोलि खुमलटारमै आएर छलफल गर्छु भनेका थिए । नेकपामा पछिल्लो समय आन्तरिक विवाद चर्किरहेको अवस्थामा प्रधानमन्त्री ओलीले थप ठाउँ दिएका थिए ।

उनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर प्रचण्ड र वरिषठ नेता माधव कुमार नेपाल समूहलाई थप चिढ्याएका थिए । यससँगै नेकपामा वारपारको अवस्था आएको राजनीतिक वृत्तमा चर्चा चलेको थियो ।

तर, नेकपाको स्थायी समिति बैठकले ओलीले उक्त अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । अध्यादेशविरुद्ध संसद बोलाउन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका नेकपाका सांसदहरु पनि अध्यादेश फिर्ता हुने भएसँगै फर्किएका थिए ।

पार्टी एकतालाई कायम राख्दै अगाडि बढ्नुको विकल्प नभएको भन्दै नेकपाका दोस्रो तहका नेताहरुले आफ्नो सक्रियता बढाएका थिए । परिणमस्वरुप दुई अध्यक्षले वार्तालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने छनक देखाएका छन् ।