काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेकोप्रति असन्तुष्ट जनाउँदै सरकारमा रहेका केहि मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन्। सत्तारुढ नेकपामा प्रचण्ड–नेपालपक्षीय मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेकोप्रति असन्तुष्ट जनाउँदै राजीनामा दिने तयारी गरेका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजको मन्त्रिपरिषद् बैठकबाट प्रतिनिधि सभा विघटन गर्ने निर्णय गराएपछि मन्त्रीहरुले राजीनामा दिने मनस्थिति बनाएको स्रोतले जानकारी दिएको हो । पुर्वमाओवादी खेमाबाट मन्त्री बनेका उर्जामन्त्री वर्षमान पुन, बनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री विना मगरले राजीनामा दिन लागेका हुन्।
त्यसैगरी नेपाल पक्षबाट मन्त्री बनेका घनश्याम भुसाल र योगेश भट्टराई लगायतले पनि राजीनामा दिनसक्ने संभावना रहेको स्रोतको भनाइ छ। ओली सरकारमा पुर्व माओवादीबाट मन्त्री बनेका मध्ये गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्ट भने राजीनामा दिने अवस्थामा नभएको स्रोतले जनाएको छ।
मन्त्रिपरिषद् बैठकपछि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका मन्त्रीहरुले राजीनामा दिनेबारे छलफल गरेका थिए। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको प्रस्तावप्रति मन्त्रीहरु घनश्याम भुसाल, वर्षमान पुन, प्रदीप ज्ञवाली लगायतले बैठकमै विरोध गरेका थिए।