काठमाडौँ- गृहमन्त्री रामबहादुर थापा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै रहने भएका छन्। आइतबार प्रधानमन्त्री ओलीको सिफारिसमा संसद विघटन भएपछि पूर्वमाओवादी पक्षका पाँच र माधव नेपाल पक्षका दुईसहित सात जना मन्त्रीहरूले राजीनामा दिएका छन्। पूर्वमाओवादी पक्षबाट गृहमन्त्री बनेका थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा घोषणा गरेनन्। यसले उनीहरू दुवै जना प्रधानमन्त्री ओलीको साथमा रहेको देखिएको छ।
प्रधानमन्त्री ओलीले आइतबार संसद विघटनको सिफारिस गर्ने निर्णय मन्त्रीपरिषद बैठकबाट लिनुअघि नै गृहमन्त्री थापासँग सल्लाह गरेका थिए। शनिबार अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेका प्रधानमन्त्री ओली त्यहाँबाट फर्किएर पुल्चोकस्थित मन्त्री निवास पसेर थापासँग भेटेका थिए।
पछिल्लो समय नेकपाभित्रको विवादमा थापा ओलीकै साथमा देखिँदै आएका थिए। गत भदौमा विवाद उत्कर्षमा पुगेको बेला सानेपामा भएको प्रचण्ड–माधव नेपाल पक्षको भेलामा ओलीविरुद्ध अभिव्यक्ति दिएपनि उनी त्यसपछि फेरि ओलीतिर नै देखिँदै आएका थिए।
पछिल्लो समय थापाले प्रचण्ड र ओली दुवैको प्रस्ताव फिर्ता हुनु पर्ने र पार्टीको विवाद मिलाउन कार्यदल गठन गर्नुपर्ने प्रस्ताव सचिवालय बैठकमा राखेका थिए, जुन बहुमतले अस्वीकृत भएको थियो। थापा निकट ती नेताका अनुसार ओलीले उनलाई संसद विघटनपछि पनि गृहमन्त्री कायम राख्ने र नेकपा विभाजन भएपछि बन्ने नयाँ पार्टाीमा सहअध्यक्ष बनाउने आश्वासन दिएका छन्।
थापा ओलीलाई साथ दिने पूर्वमाओवादी पक्षका सबैभन्दा वरिष्ठ नेता हुनेछन्। र, नेकपाको सचिवालय सदस्य पनि भएको हिसावले यदि नेकपा विभाजन भएर ओलीको नेतृत्वमा नयाँ एमाले गठन भएमा थापाले दोस्रो नम्बर दाबी गर्नु स्वभाविक पनि देखिन्छ।
ओली निकट नेता महेश बस्नेतले आइतबार संसद विघटन भएपछि ‘अब पूर्वएमाले ब्युँताउने’ बताइसकेका छन्।