काठमाण्डौ-प्रतिनिधि सभा विघटन खारेज गर्न माग गर्न नेकपाका सांसदहरुले सर्वोच्च अदालतमा रिट हालेका छन्।
सत्तारुढ नेकपाकै सांसदहरु देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ र रामकुमारी झाँक्रीले मंगलबार सर्वोच्चमा रिट हालेका हुन्। रिटमा उनीहरुले प्रतिनिधि सभा विघटन गर्ने कदम गलत भएको उल्लेख गर्दै त्यसलाई खारेज गर्न माग गरेका छन्।
नेकपा सांसदहरुले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्दा आफूहरु ५ वर्षसम्म नागरिकको प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको भन्दै विघटन गर्ने काम उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका एक सांसदले बताए। उक्त निवेदनमा नेकपाका ९० जना सांसदहरुको हस्ताक्षर रहेको बताइएको छ।
रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको एक सांसदले जानकारी दिए।
निवेदन पेस भए पनि दर्ता भने भइसकेको छैन।