नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आवेदन खुल्ला

  • प्रकाशित मिति : December 23, 2020
  • नेपाल ज्योति

काठमाडौँ-नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करणका लागि विश्वभरीबाट आवेदन खुल्ला भएको छ। सन् २०२१ जुन १८ देखि २० सम्म वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर महोत्सव आयोजना गर्न लागिएको हो।

चलचित्र महोत्सवसमा नेपालका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिनेछन् । नेपाल बाहेक अमेरिका, दक्षिण एसिया सहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरु यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् ।

वासिङ्गटन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीहरुलाई प्रोत्साहान गर्न ‘डीएमभी क्लोजअप’ प्रदर्शनी हुँदै आएको छ । स्थापना देखि नै ग्लोबल पिस फिल्म फेस्टिवल फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुदै आएको चलचित्रहरु आगामी वर्ष पनि समावेश हुनेछ ।

अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुको समितिले आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु प्रदर्शनका लागि छनोट गर्नेछन् । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ । महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे प्यानल छलफल तथा कार्यशालाहरु पनि आयोजना हुनेछन् । महोत्सवमा चलचित्र प्रदर्शन पछि उपस्थित निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिने छन् ।

अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । कोविड–१९ को कारणले सन् २०२० को संस्करण स्थगित गरिएको थियो। यसै विच उत्तर–अमेरिकाका ७ वटा दक्षिण एसियाली चलचित्र महोत्सवहरुको साझा पहलमा ‘कोसाफ’ सम्पन्न भएको थियो।

चलचित्रको अनलाइन मार्फत दिन सकिने व्यवस्था गरिएको छ । चलचित्र आवेदन सम्बन्धिका विवरण तथा नियमहरु संस्थाको वेभसाइटमा उपलब्ध छन् ।