विराटनगर-प्रदेश १ का तीन मन्त्रीले राजीनामा दिएका छन् । उनीहरु नेकपा प्रचण्ड र माधव पक्षका हुन् ।
आइतबार राजीनामा दिनेहरुमा सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास छन् ।
प्रचण्ड–नेपाल पक्षधर प्रदेशसभा सदस्यहरुले आइतबार मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी स्वरुप मन्त्रीहरुले राजीनामा दिएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री राईले शनिबार साँझ प्रचण्ड–नेपाल पक्षका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई बर्खास्त गरेका थिए ।
प्रदेश १ सभामा रहेको ९३ सदस्यमा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १र१ जना प्रदेशसभा सदस्य छन् । नेकपाका ६७ मध्ये पूर्व एमालेका ५१ र पूर्व माओवादीका १६ प्रदेशसभा सदस्य हुन् ।
मुख्यमन्त्री राईको सरकार ढालेर नयाँ सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक हुन्छ ।