कुलमानको बर्हिगमनसँगै विद्‍‍‍युत्‌ चुहावट बढ्यो

  • प्रकाशित मिति : January 2, 2021
  • नेपाल ज्योति

काठमाडौं –कुलमान घिसिङको बहिर्गमनपछि विद्‍‍‍युत्‌ प्राधिकरणको प्रणालीमा बिजुली चुहावट बढ्न सुरु भएको छ । कुलमानले प्राधिकरण छाड्नुअघि १५ प्रतिशतमा सीमित रहेको विद्‍‍‍युत्‌ चुहावट गत कात्तिकसम्म आइपुग्दा १.६ प्रतिशतले बढेको छ । प्राधिकरणले कात्तिकदेखि पुस १५ सम्मको चुहावटको गणना गरेको छैन ।

विद्‍‍‍युत्‌ प्राधिकरणका कायम मुकाम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोभिड-१९ का कारण कर्मचारीहरु अनुगमन गर्न नपाएको, लकडाउनले घरमै बस्‍नु परेको, कोरोनाकै कारण उद्योगहरु सञ्चालन हुन नसकी प्राविधिक चुहावट वृद्धि हुन पुगेकोलगायतका कारण दर्शाए । ‘हामीले यो आर्थिक वर्षमा चुहावटलाई १४.५ प्रतिशतमा झार्ने लक्ष्य लिएका थियौं,’ शाक्यले भने, ‘अब १५ नै रहने भयो ।’

उद्योग चल्न नसक्दा बिजुली खपतको ढाँचामा आएको परिवर्तनले प्राविधिक चुहावट बढ्न पुगेको उनको तर्क छ । उद्योगले बिजुली खपत गर्दा प्राविधिक चुहावट गार्हस्थ्य (घरायसी) भन्दा कम हुने गर्छ । मंगलबारको उच्चतम विद्‍‍‍युत्‌ माग (पिक लोड) लाई आधार मान्ने हो भने १.६ प्रतिशत चुहावट हुनु भनेको चार लाख युनिट बिजुलीको आम्दानी नाश हुनु हो । प्राधिकरणको आफ्नै विद्‍‍‍युत्‌गृह, भारतबाट आयात र निजी क्षेत्रका गरी मुलुकको विद्‍‍‍युत्‌‌ प्रणालीमा यतिखेर २ करोड ५२ लाख युनिट बिजुली उपलब्ध छ ।