प्रथम नेपाली गायिका मेलवा देवीको वास्तविकता यस्तो भेटियो

  • प्रकाशित मिति : January 2, 2021
  • नेपाल ज्योति

काठमाडौं -रेडियो नेपालको स्थापनापछि धेरै गायिकाहरु जन्मिएका छन् । प्रजातान्त्रिक रेडियो नेपाल स्थापना भएपछि विराटनगरबाट गायिका रानुदेवी अधिकारीले २००६ सालमा गीत गाएकी थिइन् भने १९८५ मा गायिका मेलवा देवी गुरुङले सवारी मेरो रेलैमा गीत गाएकी थिइन् ।

आफ्ना दुई छोराको सानैमा मृत्यु भएपछि रेलमा सवारी भएकी गायिका मेलवा देवीले आफ्नै शब्द, संगीत र स्वरमा गीत रेकर्ड गराएकी थिइन् । उनले त्यो गीतलाई कोलकत्तामा हिज मास्टर भ्वाइस रेकर्डिङमा ग्रामो फोनमा रेकर्ड गराएकी थिइन् । श्री ३ चन्द्र शमशेरकी प्रिय गायिका रहेकी मेलवा देवीले सवारी मेरो रेलैमा, आउन बस पियारी मिरमिरे झ्यालैमा, ‘बिरानो देशैमा लैलै, मै मरी जाउँला बरिलैलै, रोइदिने कोही छैन जस्ता गीत गाएकी छन् । त्यसो त नेपालकै इतिहासमा पहिलो नारी प्रधान गीत ‘न घरलाई घर कहिन्छ’मा पनि उनले स्वर दिएकी थिइन् । जुन गीत शहिद शुक्रराज शास्त्रीले लेखेका थिए ।

नेपालकै पहिलो महिला गायिका मेलवादेवी गुरुङको जन्म वि.सं. १९५४  ओखलढुङ्गा जिल्लाको रुम्जाटार जागरबोट वाड नं ८ मा भएको हो। उनलाई जन्म दिने पिता : ज्ञानबहादुर र माता : सपनादेबी गुरुङ हुनुहुन्छ । बाल्यकालमै राणा दरबारमा पसेकी मेलवादेबी गुरुङ ख्यातिप्राप्त उस्तादहरु डुण्डे खाँ, बालाप्रसाद शर्मा र गणपतसँग शास्त्रीय सङ्गीतको गायनमा तालिम लिएकी थिइन् ।

पाली, हिन्दी ,नेवारी, बङ्गाली, उर्दू भाषामा गीत गाएकी गुरुङको गीत रेकर्ड सङ्खयाको अभिलेख कतै उपलब्ध छैन । आफै गीत लेख्ने, सङ्गीत भर्ने, र गाउने  मेलवादेवीले ५० वटा जति पदक थुप्रै कपहरु र प्रमाणपत्र पुरस्कारको रुपमा प्राप्त गरेकी थिइन् । उनको इच्छा अनुसार मृत्युपछि चितासँगै गीतका क्यासेटहरु प्राप्त पुरस्कारहरु हार्मोनियम आदि जलाइएको थियो ।

सङ्गीत प्रवीण स्वर्गीय नरराज ढकाल लगायत थुप्रै सङ्गीतका साधकलाई सङ्गीत तालिम दिएकी मेलवादेवी चन्द्रशमशेरकी प्रिय पात्र थिइन्। दरवारिया षड्यन्त्रका कारण उनको स्वर बिग्रिएको भनाइ प्रचलित थियो । उनको सुमधुर आवाजलाई  बेलायती डाक्टरलेसमेत निको पार्न सकेका थिएनन् । उनलाई चन्द्रशमशेरले विजयेश्वरीमा घर बनाइ राखिदिएका थिए भने उनको बिबाह डिठ्ठा कृष्ण मानन्धरका छोरा कृष्णभक्त मानन्धरसँग दक्षिणकाली मन्दिरमा भएको थियो । दुई छोरीको जन्म दिएकी गुरुङ पतिद्वारा अपहेलित हुनुपरेको थियो । जुद्ध शमशेर जबराको कोपभाजन भई मुग्लान पसेकी मेलवादेवीका दुई छोरीको विवाह क्रमशः कानपुर र बम्बै भारतमा नै भएको थियो ।

उनको मृत्यु सन् १९५५ मा ५३ बर्षको उमेरमा दुर्घटनामा परि भारतमा नै भएको ।

 

स्रोतः पुराना दस्तावेज एवं विभिन्न पत्रपत्रिका