सुदूरपश्चिम प्रदेशसभामा ओली पक्ष अल्पमतमा

  • प्रकाशित मिति : January 3, 2021
  • नेकपाका ३९ सांसदमध्ये प्रचण्ड-माधव पक्षमा ३० जना

काठमाडौं –सुदूरपश्चिम प्रदेश सभामा नेकपाका अध्यक्ष केपी शर्मा ओली भारी अल्पमतमा परेका छन् । ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेकपाका ३९ जना सांसदहरु छन् । तीमध्ये प्रचण्ड-माधव पक्षमा ३० जना सांसद छन् । यस्तै ओलीको पक्षमा ६ जना सांसद मात्र छन् ।

सुदूरपश्चिम प्रदेश नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्टले आह्वान गरेको बैठकमा सहभागी भएकामध्ये ६ जना प्रदेश सभा सदस्यहरुले बैठकको निर्णयमा हस्ताक्षर नगरेर प्रधानमन्त्री ओलीको पक्षमा उभिएका हुन् । बैठकमा ३६ जना सहभागी थिए ।

आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा भने काठमाडौंमा रहेका कारण उपस्थित भएनन् । नेकपा ओली पक्षको केन्द्रीय सदस्यमा मनोनित भएका बोहराले त्यो पद अझै स्विकार नगरेको बताएका छन् । बैठकमा अनुपस्थित नेकपाबाट निर्वाचित बाँकी दुई जना सभामुख र उपसभामुख हुन् ।

बैठकले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेकोप्रति आपत्ति जनाउँदै विरोध गर्ने, बहुमत सदस्यले नेतृत्व गरेको प्रचण्ड-नेपाल समूह आधिकारिक भएकाले दृढताका साथ लाग्ने र प्रदेश सरकारका नियमित काम कारबाहीलाई एकताबद्ध भएर अघि बढाउने निर्णयसमेत गरेको छ ।