प्रतिनिधिसभा विघटन मुद्दाका लागि एमिकस क्युरीमा पहिलो महिला बन्ने सौभाग्य अधिवक्ता गीता पाठकलाई

  • प्रकाशित मिति : January 5, 2021
  • नेपाल ज्योति

काठमाडौँ- सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि सहयोगीमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिश गरेको छ । सर्वोच्च अदालत बारको सोमबार बसेको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता पाठकको नाम सिफारिश गरेको बारका उपाध्यक्ष राजु खड्काले जानकारी दिए ।

बारका अध्यक्ष अधिकारी कोरोना सङ्क्रमण भई आइसोलेशनमा रहेकाले पाठकको नाम सिफारिश गरिएको हो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालत बारबाट दुई वरिष्ठ अधिवक्ता वा अधिवक्ता एमिकस क्युरीका लागि झिकाउने आदेश जारी गरेको थियो ।

पाठकले प्रतिनिधिसभा विघटन मुद्दाका लागि एमिकस क्युरीमा पहिलो महिला बन्ने सौभाग्य पाएकी छन् । नेपाल बार एशोसिएसनले भने एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीको नाम बिहीबार सिफारिश गरिसकेको छ ।

अदालतको आदेशानुसार यही पुस १९ गते राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं प्रतिनिधिसभाका सभामुखबाट लिखित जवाफ अदालतमा दर्ता भइसकेको छ । यही पुस २२ गतेदेखि सर्वोच्च अदालतमा उक्त विवादमा सुनुवाइ शुरु हुने तय भएको छ ।