गुल्मी-गुल्मीमा बिरामीलाई फलामको रड, प्लास्टिकको पाइप र स्टिलको झाँजर तताएर शरीरका विभिन्न भागमा डाम्दा एक जनाको मृत्यु भएको छ। ढाड दुख्ने बिरामीलाई झारफुक गरी उपचार गर्ने बहानामा डाम्ने क्रममा ईश्मा गाउँपलिका ३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर कुमाल (मुखिया)को मृत्यु भएको हो। घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा गुल्मी रेसुंगा नगरपालिका १ ओख्रेनी बस्ने मालिका गाउँपालिका ६ अर्जेका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र उनकै श्रीमती ३६ वर्षीया शान्तिला श्रेष्ठ रहेका छन्।
राम प्रसादले आफ्नो घरमा अपरिचित व्यक्तिहरु आई अशान्ति मच्चाई रहेको भन्दै बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय गुल्मीमा निवेदन दिएका थिए। अनुसन्धानका क्रममा धामी काम गर्दै आएका रामप्रसादले फलामको रड तताएर डाम्दा कुमालको मृत्यु भएको खुल्न आएको प्रहरीले जनाएको छ। उनका जेठा छोरा ३४ वर्षीय हुमबहादुर मुखिया सामान्य घाइते भएका छन्।
गत आइतबार राम प्रसादको घरमा गएका रामबहादुरलाई उपचार गर्ने बहानामा खाना खान समेत नदिई आगोमा तताएको रडले डामेका थिए। त्यसको केहीछिन पछि सन्चो हुन्छ र आफै एकछिनमा उठ्छन् भन्दाभन्दै उनको मृत्यु भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।