काठमाण्डौ-सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्वप्रशासक, व्यवसायीसहित २ सय २० जनाको सम्पत्ति छानबिन गरिरहेको छ ।
उनीहरुमध्ये पूर्वउप्रधानमन्त्री विजय कुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्व आयुक्त राजनारायण पाठकलाई घुस दिने नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने लगायतका छन् । उनीहरुले कमाएको अकुत सम्पत्तिको अनुसन्धान गरी केहि मुद्दा दायर गर्ने तयारी रहेको विभागले जनाएको छ ।
१ हजार ३ सय उजूरीको प्रारम्भिक जाँचबुझ भइरहेको विभागका सूचना अधिकृत सुशीलप्रसाद आचनर्यले जानकारी दिएका छन । विभागले स्थापना भएको पाँच वर्षमा ६६ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा पाँचवटा मुद्दा दायर गरिएको छ । उक्त मुद्दामा २३ करोड ७० लाख ५२ हजार ६ सय ८२ बिगो माग दाबी गरिएको छ । २०७६/७७ मा दश वटा मुद्दा दायर गरिएको विभागले जनाएको छ । यस्तै, २०७४/७५ मा ५ वटा मुद्दा दायर गरिएको थियो ।
स्थापनाको पहिलो वर्षमा विभागले ३८ वटा मुद्दा दायर गरेका थिए । जसमा १ अर्ब १२ करोड ४१ लाख ४३ हजार ८ सय २० बिगो माग गरिएको थियो । अहिलेसम्म ४४ वटा मुद्दा फैसला भएको छ ।
सर्वोच्च अदालतबाट १० वटा मुद्दाको फैसला भएको विभागले जनाएको छ । जसमध्ये ९ वटा मुद्दा विभागको पक्षमा फैसला भएको छ ।
शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानीसम्बन्धी कसुरको अनुसन्धान गरी अभियोजन गर्ने विभागको मुख्य काम हो । अर्थ मन्त्रालयअन्तर्गतको विभाग प्रधानमन्त्री मातहत गएसँगै यसप्रति चासो बढेको छ ।