काठमाडौं-प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्चमा आजको बहस सकिएको छ। आजको बहसमा दुई अधिवक्ताले रिट निवेदनको पक्षमा बहस गरे। अधिवक्ताद्वय दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले सोमबार प्रतिनिधि सभा विघटनविरुद्ध बहस गरेका हुन्।
आजको बहसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र अधिवक्ता दिनमणि पोखरेलबीच सवालजवाफ समेत भएको थियो। अधिवक्ता पोखरेलले हठात् गरिएको प्रतिनिधि सभा विघटनले को कसमाथि उत्तरदायी रहने भन्ने गम्भीर प्रश्न उब्जिएको बताए । उनले प्रधानमन्त्री बनाउन प्रक्रियामा जानुपर्नेमा प्रक्रियामै नगई विघटन गर्न नमिल्ने बताए । प्रधानन्यायाधीश राणाले प्रतिप्रश्न गर्दै सोधे, ‘२०५१ सालमा अदालतले किन प्रश्न गरेको थियो ? कन्टेक्स्ट (परिस्थिति)मा जानुस्। अदालतले त्यो बेला पनि प्रश्न गरेको थियो।’ अधिवक्ता पोखरेलले यो अदालतको विषय होइन भनेपछि प्रधानन्यायाधीशले प्रतिप्रश्न गरेका हुन्। त्यसको जवाफमा अधिवक्ता पोखरेलले त्यतिबेला विघटन गर्नुका दुई कारण रहेको बताए।
अब अर्को सुनुवाइ मंगलबार पुनः हुनेछ। गत पुस ५ मा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी थिइन्। त्यसविरुद्ध दर्जन बढी रिट परेको छ। रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ।