तोकिएकै समयमा निर्वाचन हुने : राष्ट्रपति

  • प्रकाशित मिति : January 18, 2021
  • नेपाल ज्योति

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको र तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताएकी छिन् । निर्वाचन आयोगको वार्षिक प्रतिवेदन बुझ्दै भण्डारीले स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित निर्वाचनका लागि गम्भीरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास समेत व्यक्त गरेको आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति भण्डारीले लोकतन्त्रलाई संस्थागत एवं सुदृढीकरण गर्ने काम निर्वाचन आयोगको भएकोले निर्वाचनमा बढी भन्दा बढी मतदाताको सहभागिता गर्ने गराउनेतर्फ कार्य गर्न, सबै मतदाताको मताधिकार सुनिश्चित गर्न तथा मतदान स्थल तथा केन्द्रहरू मतदातामैत्री बनाउन सुझाव दिएकी थिइन् ।

आयोगले सोमबार संविधानको धारा २९४ बमोजिम वार्षिक प्रतिवेदन ०७६/७७ राष्ट्रपति भण्डारीलाई बुझाएको हो । प्रतिवेदनमा निर्वाचन आयोगको संक्षिप्त परिचय, सांगठनिक एवं प्रशासकीय कार्य व्यवस्थापन, योजना, अनुगमन, समावेशीकरण तथा वैदेशिक सम्बन्ध, मतदाता नामावली तथा निर्वाचन सञ्चालन, निर्वाचन शिक्षा तथा तालिम, सूचना प्रविधि तथा प्रणाली व्यवस्थापन, कानून तथा राजनीतिक दल व्यवस्थापन, वित्तीय स्रोत परिचालन, निर्वाचन सञ्चालन तथा व्यवस्थापनलगायत विविध विषय समेटिएको आयोगले जनाएको छ ।