उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी दिन आग्रह

  • प्रकाशित मिति : January 20, 2021
  • नेपाल ज्योति

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र प्राप्त गरेको हुँदा सम्पूर्ण रकम दिन आयोगले आग्रह गरेको हो ।
प्रवक्ता डा टीकाराम पोखरेले आज जारी गरेको प्रेस विज्ञप्तिमा सम्पूर्ण रकम सम्झौताअनुरुप शीघ्र उपलब्ध गराउन तथा बक्यौता उपलब्ध नगराउने उद्योगीलाई तत्काल कानूनी कारवाहीको दायरामा ल्याउन सरकारको पुनःध्यानाकर्षण गराएको उल्लेख छ ।

“मृतक नारायण राय यादवको परिवार तथा अन्य किसानले अझै पाउन बाँकी रहेको सम्पूर्ण रकम सम्झौताअनुरुप शीघ्र उपलब्ध गराउन तथा त्यसरी बक्यौता उपलब्ध नगराउने उद्योगीलाई तत्काल कानूनी कारवाहीको दायरामा ल्याउन आयोग सरकारको पुनःध्यानाकर्षण गराउँदछ”, विज्ञप्तिमा भनिएको छ, “साथै किसानको हकअधिकारको सम्मान र संरक्षण गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।”