आरोपपत्र फिर्ता लिएर निर्वाचनमा सहभागी हुन प्रचण्डलाई पोखरेलको आग्रह

  • प्रकाशित मिति : January 25, 2021
  • नेपाल ज्योति

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपा केपी शर्मा ओली पक्षका नेता ईश्वर पोखरेलले संविधानको रक्षा र राजनीतिक स्थायीत्वको पक्षमा जनसभा आयोजना गर्न लागिएको जानकारी दिएका छन्।

नेपाल कम्युनिस्ट पार्टी नेकपा केपी पक्षको बागमती प्रदेश संगठन कमिटीको आयोजनामा माघ २३ गते काठमाडौँमा हुने जनसभाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै आज उपप्रधानमन्त्री पोखरेलले जनसभा राजनीतिक स्थायित्वको पक्षमा तथा अस्थिरता सिर्जना गर्ने प्रयत्नको विरुद्घमा आयोजना गर्न लागिएको बताएका छन्। संविधानको रक्षा, आर्थिक समृद्धि र विकासका लागि मार्ग प्रशस्त भइरहोस् भन्नका निम्ति जनसभा आयोजना गरिएको पनि उनले बताए।

उपप्रधानमन्त्री पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्तिक २८ गते अध्यक्ष ओलीलाई लगाएको आरोप तथा अभियोगपत्र फिर्ता लिएर घोषित निर्वाचनमा सहभागी हुन तयार भएमा मात्र अहिलेको विषय टार्न सकिने उनको भनाइ थियो। यस्तै, पोखरेलले निर्वाचन आयोगले आइतबार गरेको नेकपा कानूनी रूपमा फुट्न नमिल्ने निर्णय सकारात्मक रहेको बताए। आफूहरूले पार्टीबाट कसैलाई निस्कासन नगरेको भन्दै उहाँले कसैले चाहेर पनि पार्टी फुटाउन नसक्ने बताए।

आयोगको निर्णयले केपी ओली नेतृत्वको नेकपालाई बल पुग्ने उनको भनाइ रहेको छ।