कमरेडहरु एकआपसमा भेट्दा सामान्य शिष्टाचारसमेत नहुने अवस्था सिर्जना भयो : बामदेव

  • प्रकाशित मिति : January 27, 2021
  • नेपाल ज्योति

काठमाडौं, १४ माघ । सत्तारुढ नेकपाका तत्कालीन उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानमा लागेका नेता बामदेव गौतमले अहिले नेकपाको दुई समूहबीच देखिएको टकराव र गालीगलौजले अस्वाभाविक परिस्थिति सिर्जना गरेको बताएका छन् ।

अभियानको घोषणा सभामा नेता गौतमले अहिले कम्युनिष्टहरु एकआपसमा भेट्दा सामान्य शिष्टाचारसमेत नहुने अवस्था सिर्जना भएको बताएका छन । एक समूहकाले अर्को समूहका व्यक्तिलाई सामान्य रुपमा भेट हुँदा नमस्तेसमेत गर्न नसक्ने अवस्था आएको उनले बताएका छन ।

आफू पार्टी एकताको पक्षमा पहिल्यैदेखि रहेको बताउँदै पार्टीमा फुटको सुरुवात प्रचण्ड-माधव पक्षको अविश्वासको प्रस्तावले ल्याएको गौतमले बताएका छन । एकताका लागि मूल्य चुकाउन तथा तल पर्न आफू तयार रहेको र प्रचण्ड-माधवलाई सोही गर्न आग्रह गरेको पनि बताएका छन ।

पार्टीमा र सरकारमा प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी ढंगले चलेकामा आफूहरुको विरोध रहेपनि त्यतिबेला सबै गतिविधि एकताको पक्षमा हुनुपर्नेमा आफ्नो जोड रहेको गौतमले बताएका छन । आफू प्रधानमन्त्री भएको भए त्यस्तो अवस्थामा राजीनामा दिएर बाटो खाली गर्नेपनि उनले बताएका छन ।