आयोगका नजरमा नेकपा एउटै- निर्वाचन आयोग

  • प्रकाशित मिति : January 29, 2021
  • नेपाल ज्योति

काठमाडौं -नेकपा केपी ओली पक्षले निर्वाचनको तयारीलाई निरन्तरता दिन र दल दर्ताको प्रक्रिया सुरु गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ ।

शुक्रबार आयोगले बोलाएको छलफलका क्रममा सो पक्षले निर्वाचनको सबै कार्यमा तदारुकताका साथ अगाडि बढाउन सुझाव दिएको हो । उक्त छलफलमा दल दर्ता र निर्वाचनका बारेमा छलफल भएको सो पक्षका नेता सुवास नेम्वाङले जानकारी दिए । उनले सर्वोच्चबाट स्टे अडर नआएको अवस्थामा आयोगले निर्वाचन सम्बन्धी कार्यक्रममा ढिलाई गर्न नहुने बताए ।

त्यस्तै नेकपा प्रचण्ड–नेपाल पक्षले आफ्ना अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल उपत्यका बाहिर रहेकाेले निर्वाचन आयोगले शुक्रबारका लागि बोलाएको परामर्श बैठकमा भाग लिन नसक्ने भनी लिखित जानकारी गराएको छ । पत्र हस्तान्तरणपछि नेता राजेन्द्र पाण्डेले आफूूहरुले समन्वय गरिरहे तापनि उपत्यकाबाहिर भएकाले अध्यक्षसँग परामर्श गर्न नपाएका कारण प्रतिनिधि तोक्न नभ्याएको व्यहोरा आयोगलाई लिखितरुपमै जानकारी गराइएको बताए ।

छलफलपछि आयोगका आयुक्त ईश्वरी पौडेलेले नेकपाको आधिकारिकताबारे कुनै निर्णय नभएको बताए । आयोगका नजरमा अहिले पनि नेकपा एउटै रहेको उनले बताए । चुनावका लागि छिट्टै पार्टी दर्ता गर्न लागेकाले आयोगले नेकपाका दुबै पक्षलाई बोलाएको उनको भनाई छ । त्यस्तै उनले दल दर्ताका बारेमा पुन दुवै पक्षसंग छलफल गरिने जानकारी दिए ।

आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म भएको तयारी र राजनीतिक दल दर्ता सम्बन्धमा छलफल गर्न नेकपाका नेताहरुलाई बोलाएको थियो । सरकारले प्रतिनिधिसभाको निर्वाचन आगामी वैशाख १७ र २७ गते दुुई चरणमा गर्ने घोषणा गरेको छ । निर्वाचन र प्रतिनिधिसभा भङ्ग भएका विषयमा सर्वाेच्च अदालतमा परेको मुुद्दामाथि अझै पनि सुुनुुवाइका क्रममा बहस भइरहेको छ ।