मासुजन्य खाने कुरा राम्ररी पकाएर खान सुझाव

  • प्रकाशित मिति : January 31, 2021
  • नेपाल ज्योति

काठमाडौं -बर्डफ्लू सङ्क्रमण पुष्टि भएपछि सरकारले मुलुकभित्र निगरानी उच्च बनाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

रोग देखिएको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा नम्बर ७ साङ्लेखोला, फुटुङकाका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार एक हजार ८ सय ६५ वटा हाँस, ६ सय २२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, पाँच सय ४२ अण्डा र ७५ किलो दाना नष्ट गरिएको छ । रोग देखापरेको क्षेत्रलाई समेत निसङ्क्रमण तुल्याइएको पशुसेवा विभागका वरिष्ठ पशुविकास अधिकृत चन्द्र ढकालले बताए ।

रोग नियन्त्रणमा सघाउन विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपोसार गर्दा स्वास्थ्य परिक्षण गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्वन गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन समेत आग्रह गरेको छ ।

चिकित्सकहरूले बर्डफ्लूबाट विगतमा मानिसको मृत्युसमेत भएकाले भरसक मासु तथा मासुजन्य खाने कुरा नखान तथा खाए पनि राम्ररी पकाएर खान सुझाव दिएका छन् ।