कर्णाली प्रदेश सरकारको वार्षिकोत्सवमा ओली समुह र कांग्रेसद्धारा बहिष्कार

  • प्रकाशित मिति : February 15, 2021
  • नेपाल ज्योति

सुर्खेत-कर्णाली प्रदेश सरकारको तेस्रो वार्षिकोत्सव नेपाल कम्युनिस्ट पार्टी (केपी ओली) र नेपाली कांग्रेसले अघोषितरुपमा बहिष्कार गरेका छन् । सोमबार मुख्यमन्त्री कार्यालयमा तेस्रो वार्षिकोत्सव कार्यक्रम भइरहँदा कांग्रेस र ओली समूहका सांसद उपस्थिति थिएनन् । कार्यक्रममा राप्रपाकी सांसद पनि उपस्थित भइनन् ।

ओली समूहका सांसद गुलावजंग शाहले आफूहरुलाई वार्षिकोत्सवबारे जानकारी नभएको बताएका छन । उनले भने, ‘वार्षिकोत्सबबारे जानकारी भएन, म आफनो महत्त्वपूर्ण कामले निर्वाचन क्षेत्रमा छु । सरकारले के-के गर्छ हामीलाई थाहा दिदैन ।’

वार्षिकोत्सवमा सहभागी नभएको नेपाली कांग्रेस दलका नेता जीवनबहादुर शाहीले आफू कामले काठमाडौं भएको र ढिला जानकारी भएकोले सहभागी हुन नसकेको बताएका छन ।

‘म काम विशेषले काठमाडौंमा छु, हिजो साँझमात्रै खबर आएको थियो,’ उनले भने, ‘अरु साथीहरु पनि काम विशेषले बाहिर हुनुहुन्छ । प्रदेश सरकार स्थापना दिवस हो, त्यसमा सहभागी हुनै पर्छ भन्ने पनि छैन् ।’