चारजना मृत अवस्थामा फेला

  • प्रकाशित मिति : February 16, 2021
  • नेपाल ज्योति

काठमाडौं – काठमाडौं, डडेल्धुरा, संखुवासभा र तनहुँमा चारजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका–२३, जोरगणेश, चिकमुगल बस्ने ८३ वर्षीया कमलहिरा तुलाधर आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् ।

डडेल्धुराको पर्शुराम नगरपालिका–६, करालीको जंगलमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरूषको कंकाल फेला परेको छ ।

यस्तै, संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिन्दा बेसीस्थित अरुण तेस्रो जलविद्युत् आयोजनामा काम गर्ने भारत घर भएका ३५ वर्षीय करिया उराउँ सुतिरहेको अवस्थामा मृत फेला परेका छन् ।

तनहुँको ब्यास नगरपालिका–१३, बेल्बासस्थित सेती नदी र मादी नदीको दोभानमा सोही नगरपालिका बेनिकोट भञ्ज्याङ बस्ने ४७ वर्षीय तुलबहादुर थापा मृत अवस्थामा फेला परेका छन् ।