हालसम्म दुई हजार ३ सय २५ अनलाइन सञ्चारमाध्यम दर्ता

  • प्रकाशित मिति : February 18, 2021
  • नेपाल ज्योति

काठमाडौं-पछिल्लो समय देशमा अनलाइन सञ्चारमाध्यमको सङ्ख्या बढ्दै गएको छ । सूचना तथा प्रसारण विभागकाअनुसार चालु आर्थिक वर्षमा (साउन ६९, असोज ९१, मंसिर १६१, पुस ११७ र माघ पहिलो सातासम्म ४०) ४ सय ७८ वटा नयाँ अनलाइन दर्ता भएका छन् ।

आव २०७५/७६ मा ५ सय ५० वटा अनलाइन नयाँ दर्ता गरिएको छ भने १७ वटा पुनः दर्ता गएिको छ । दुई सय ७२ नवीकरण गरिएको छ । त्यसैगरी आव २०७६/७७ मा ५ सय ६१ नयाँ अनलाइन दर्ता गरिएको छ । सो अवधिमा २ सय ७२ वटा नवीकरण गरिएको छ । हालसम्म दुई हजार ३ सय २५ अनलाइन दर्ता भएका छन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पछिल्लो समयमा अनलाइन पत्रकारिता मूलधारको पत्रकारिताको रूपमा विकास भएका कारण पनि व्यावसायिक र विश्वसनीय बन्न जरुरी रहेको बताएका छन । उनले भने, “अहिले अनलाइन पत्रकारिता मूलधारको पत्रकारिता बनेको छ तर यसको सङ्ख्या बढ्यो गुणस्तर भने बढ्न सकेन, सबै होइन, कतिपय अनलाइनले पत्रकार आचारसंहिता विपरीत समाचार प्रकाशन गरिएको पाइएको छ, त्यसलाई आचारसंहिता पालना गराउँदै नियमन गर्नुपर्छ ।”

दैनिक, अर्थ साप्ताहिक, साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक, चौमासिक, अर्थ वार्षिक र वार्षिक गरी सात हजार ८ सय ७ पत्रपत्रिका दर्ता गरिएको छ । प्रसारण विभागकाअनुसार हालसम्म एक हजार १ सय २७ एफएम रेडियो र २ सय २ टेलिभिजन च्यानलले इजाजत पाएका छन ।