निषेध र विभेदको राजनीतिले मुलुक दिनप्रतिदिन जटिलतातर्फ फस्दै गयो : पुर्वराजा शाह

  • प्रकाशित मिति : February 18, 2021
  • नेपाल ज्योति

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र विभेदको राजनीतिले मुलुक दिनप्रतिदिन जटिलतातर्फ फस्दै गएको बताएका छन् । शुक्रबार परेको ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषका नेताहरुको शासन प्रणाली मात्रै नभई सामाजिक जीवपद्धति समेत भएको बताएका छन् ।

‘नेपाल जनता र राजाबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाटै हुने यर्थाथको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिनप्रति दिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेका छन्’, पूर्व राजा शाहले दलहरुप्रति संकेत गर्दै भनेका छन् ।

प्रजातन्त्र आधुनिक शासन पद्धतिको सर्वोत्तम विधि व्यवस्था भएको भन्दै शाहले विश्वमान्य प्रजातन्त्रको मान्यता अनुरुप नेपालमा प्रजातान्त्रिक विधि व्यवहार अघि बढोस् भन्ने आकांक्ष सवैको रहेको बताएका छन् । उनले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको समेत शुभकामना सन्देशमा स्मरण गराएका छन् ।