विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीले वैद्य र डाक्टर छाडेका प्रचण्डलाई अब झाँक्रीले बचाउन नसक्ने बताएका छन् । शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली ले सबैले छोड्दैगएको देख्दा आफूलाई प्रचण्डको माया लागेको बताए ।
‘पहिलो उहाँसग वैद्य हुनुहुन्थ्यो, वैद्यले उहाँलाई छाड्नु भयो त्यसपछि उहाँले डाक्टर लिनुभयो। डाक्टरले पनि उहाँलाई छाड्नु भो अहिले झाँक्री लिनुभएको छ’, प्रधानमनत्री ओलीले भने, उहाँलाई अब झाँक्रीले बचाउन सक्दैन। उहाँले राजनीतिमा गलत बाटो छान्नु भो।’ ‘दुई चार सिटमा सीमित हुने प्रचण्डलाई ठूलो जुरो हालिदिएको थिएँ। त्यसपछि लामा सिङ्ग हालिदिएको थिए’, प्रचण्डको आलोचना गर्दै ओलीले भने, ‘त्यसपछि उहाँले नै हामीलाई सिध्याउँछु भन्नुभयो। अब उहाँ सिद्धिनुभयो।’
ओली पक्षको विराटनगरमा आयोजित आमसभामा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेता सुवास नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेका छन्। ओली समूहले वैशाख १७ र २७ गतेका लागि घोषणा गरेको चुनावको तयारीमा जुट्न आग्रह गर्दै विभिन्न ठाउँमा सभा गर्दै आएको हो।