भूमिहीनलाई जग्गाधनी पूर्जा दिन प्रक्रिया सुरु

  • प्रकाशित मिति : February 28, 2021
  • नेपाल ज्योति

चितवन-चितवनका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएका छन् । ३७ हजारभन्दा बढी भूमिहीनलाई जग्गाधनी पूर्जा दिने गरी काम अघि बढाइएको हो । चितवनका सातवटै पालिकाले आफ्नो क्षेत्रभित्र रहेका भूमिहीन तथा सकुम्बासीको लगत संकलन गर्ने काम सुरु गरेका छन् । वडा तहबाटै काम सुरु भएको बताइएको छ ।

भरतपुर महानगरपालिकाले अहिले भूमिहीनको लगत लिने काम गरिरहेको छ । महानगरपालिकामा १५ हजार ७ सय भूमिहीन तथा सुकुम्बासी छन् । प्रमुख राजनीतिक दलसँग समन्वय गरेर नगरस्तरीय र वडास्तरीय सहजीकरण समिति बनाएर महानगरपालिकाले काम अघि बढाएको जनाइएकाे छ । महानगरले १५ कर्मचारी नियुक्त गरेर काम अघि बढाएको हो ।
यसैगरी चितवनका माडी, कालिका र खैरहनी नगरपालिकामा पनि भूमिहीनको तथ्यांक संकलन गरी जग्गाधनी पूर्जाको प्रक्रिया अगाडि बढाइएको छ । इच्छाकामना गाउँपालिकामा पनि भूमिहीन तथा सुकुम्बासीको लगत संकलन गरी भूमिहीन सुकुम्बासी समस्या समाधान आयोगमा सिफारिस गर्ने तयारीमा रहेको अध्यक्ष गीता गुरुङले जानकारी दिइन् ।