सुत्केरीको मृत्युपछि प्युठान जिल्ला अस्पतालबिरुद्ध ‘अनिसालाई न्याय दे’ भन्दै नाराबाजी

  • प्रकाशित मिति : February 28, 2021
  • नेपाल ज्योति

प्युठान-प्युठान जिल्ला अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै परिवारले विरोध जनाएका छन् । गत बिहीबार पहिलो शल्यक्रियाबाट शिशु ९छोरा०को जन्म दिएकी झिमरुक गाउँपालिका–७ तुषारा निवासी २४ वर्षीया अनिसा एम.सी.थापाको शनिबार राति मृत्यु भएको हो ।

अस्पतालले उनको पुन शनिबार दोस्रो पटक शल्यक्रिया गरेको थियो । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालले शनिबार राति २ बजे बुटवल रिफर गरेको थियो । उनलाई बुटवल ल्याउदै गर्दा दाङको भालुबाङमा मृत्यु भएको हो । अस्पतालले बिरामीलाई अन्तिम समयमा रिफर गर्नु अस्पतालको लापरवाही भएको मृतकको श्रीमान सुदन थापाले बताए ।

अनिसाको शवलाई अहिले प्युठान जिल्ला अस्पतालमै राखिएको छ । डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै उनीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । अनिसाको तस्वीर अंकित ब्यानरसहित प्रदर्शनमा उत्रिएकाहरुले ‘अनिसालाई न्याय दे’लगायतका नारा लगाएका छन् ।

आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने अडान उनीहरुले लिएका छन् ।