एमाले भित्रै रहेर ओली संग सामना गर्ने माधव समूहको निष्कर्ष

  • प्रकाशित मिति : March 8, 2021
  • नेपाल ज्योति

काठमाडौं-प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले अदालतको आदेशलाई सम्मान गर्दै एमाले पार्टीभित्रै रहेर आफ्नो असहमतिलाई निरन्तर रुपमा अघि बढाउने निष्कर्ष निकालेको छ । माधव नेपालनिकट एक नेताका अनुसार नेपाल पक्ष नेकपा एमालेभित्रै रहेर प्रधानमन्त्री केपी शर्मा ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने निष्कर्षमा पुगेको बताएका हुन ।

हिजो आइतबार सवोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रबीचको एकतालाई अवैधानिक ठहर गर्दै नेकपा नाम पनि नदिएपछि माधव नेपाल समूह सबैभन्दा बढी संकटमा परेको थियो। एमालेको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली पक्षले एमाले ब्यूँतिएको भन्दै खुशी व्यक्त गरिरहेको छ भने प्रचण्ड माओवादी केन्द्रको अध्यक्ष रहेका छन्।

राजनीतिक संकट आएपछि त्यसलाई कसरी सामना गर्ने भन्ने विषयमा छलफल गर्न सोमबार बानेश्वरमा भएको भेलामा नेपाल पक्षका १३ जना स्थायी समिति सदस्य सहभागी थिए। बानेश्वर भेलामा एमालेमै रहने निष्कर्ष निकालेर नेपाल पक्ष प्रचण्ड पक्षसँग छलफल गर्न पेरिसडाँडामा भइरहेको स्थायी कमिटी बैठकमा सहभागी भएको छ।