निर्वाचन आयोगले पठायो एमाले–माओवादी ब्यूँतिएको पत्र, एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन अनुराेध

  • प्रकाशित मिति : March 9, 2021
  • नेपाल ज्योति

काठमाडौं – निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहेको बारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई औपचारिक रुपमा जानकारी दिने भएको छ । मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको हो ।

यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नयाँ पार्टीलाई निर्वाचन आयोगले २०७५ जेठ २३ गते नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्ता गरेको थियो । तर सर्वोच्च अदालतले गत आइतबार ने क पाको नाम निर्वाचन आयोगमा पहिले नै दर्ता भएको पार्टीसँग मिल्दोजुल्दो भएको भन्दै खारेज गरेको थियो ।