मालपोत कार्यालयमा बम विस्फोट स्थलमा गोइत समूहको पर्चा फेला

  • प्रकाशित मिति : March 14, 2021
  • नेपाल ज्योति

सिराहा- सिराहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको ठाउँमा तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत) समूहको पर्चा फेला परेको छ । प्रहरीले विष्फोट भएको स्थानमा उक्त समूहको पर्चा भेटिएका कारण सोही समूहले कुकर बम विष्फोट गराएको हुन सक्ने आशंका गरेको छ ।

आइतबार दिउँसो भएको सो विष्फोटमा परी सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिएका छन । आईतबार दिउँसो १ बजेतिर मालपोत कार्यालयमा प्रेसर कुकर बम बिस्फोट हुँदा घाइते हुनेको संख्या ७ जना पुगेको छ। घाइते हुनेमा २ जना सरकारी कर्मचारी छन् भने बाँकी सेवाग्राही हुन्।

बिस्फोटमा गम्भीर घाइते भएका सेवाग्राही दिनेशकुमार भण्डारीलाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ । गोइतले लामो समयदेखि मधेसमा हिंसात्मक गतिविधि गर्दै आएका छन्। पछिल्लो समय उनको समूहका गतिविधि शुन्यप्राय भएका थिए।

घाइतेहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।