ओली–नेपाल पक्षको वार्ता निष्कर्षविहीन, दुवै पक्षकाे आफ्नो अडान कायमै

  • प्रकाशित मिति : March 15, 2021
  • नेपाल ज्योति

काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबिच धुम्बाराहीमा वार्ता निष्कर्षबिहीन भएको छ । दुवै पक्षले आफ्नो अडान प्रस्तुत गरेपछि वार्तामा ठोस निर्णय हुन नसकेको हो।

वार्तापछि नेपाल पक्षका नेता रघुजी पन्तले भने, ‘दुवै पक्षले आ–आफ्नो अडान प्रस्तुत गरे । छलफल जारी रहन्छ।’ विवाद समाधानका लागि दुई पक्षका नेता बिच वार्ता भएको हो।

बैठकमा २८ गतेको निर्णय फिर्ता लिने–नलिने भन्नेमा सहमति हुन सकेन। ओलीले २८ गतेको निर्णय फिर्ता लिए नेपालले आगामी चैत ४–५ गते तय कार्यकर्ता भेला स्थगित गर्ने प्रस्ताव गरे तर ओलीले अस्वीकार गरेका हुन् ।

वार्तामा ओलीका तर्फबाट ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसहितका पाँच नेता तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, रघुजी पन्त, भीम रावल, घनश्याम भुषाल र गोकर्ण विष्टसहितका नेता सहभागी थिए।

ओलीले नेता नेपाललाई छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए। तर नेपालले एक्लै भेट्न अस्वीकार गरि आफू पक्षका नेताहरुसहित पार्टी कार्यालय धुम्बाराही गएका थिए।