काठमाडौँ- एकमहिलाको हत्या गरि बोरामा हालेर फालिएको अवस्थामा शव भेटिएको छ । काठमाडौँ बल्खुको सुकुम्बासी बस्तीमा सोमबार बेलुका बोरामा हालेर फालिएको अवस्थामा स्थानीय ३२ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको शव भेटिएको प्रहरीले जनाएको छ । बोराबाट रगत बग्दै गरेको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बोरा खोलेर हेर्दा काटिएको अवस्थामा सन्तोषीको शव भेटिएको हो ।
उनका श्रीमान सन्तोष सापकोटा भने फरार छन् । उनीहरुको घरमा रगत भेटिएकाले सन्तोषीको हत्या उनकै श्रीमान सन्तोषले गरेको आशंका प्रहरीको छ । घटनाबारे अनुसन्धान भइरहेको र फरार सन्तोषको खोजी भइरहेको प्रहरीले जनाएको छ ।