नेता जोशीको स्वास्थ्य स्थिर, हल्लाको पछि नलाग्न आग्रह

  • प्रकाशित मिति : March 17, 2021
  • नेपाल ज्योति

काठमाडौं-कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक छ । मस्तिष्कघातपछि उपचाररत जोशीको स्वास्थ्य अवस्था स्थिर भएको अस्पताल स्रोतले जनाएको छ ।

नर्भिक अस्पतालले आज बिहान ७ बजे प्रेश विज्ञप्ती जारी गर्दै जोशीलाई अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको जानकारी दिएको छ । जोशीलाई थ्यालेमिक ह्यामरेज भएको हो ।

चिकित्सकका अनुसार उनको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेको थियो, जसलाई शल्यक्रिया गरेर निकाल्न निकै जटिल छ । यद्यपि, सानो शल्यक्रिया गरेर मस्तिष्कको चाप घटाउन ड्रेन पाइप राखिएको छ ।

जोशीका सहयोगी पुष्कर पाण्डेले पनि स्वास्थ्य अवस्था स्थिर भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘जोशीको उपचार भइरहेको छ, स्वास्थ्य स्थिर छ, तर बजार हल्ला जस्तो केही होइन् ।’ पाण्डेले सामाजिक सञ्जालमा आएका कुराहरुले दुखी बनाएको पनि बताउनुभयो । जोशीको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा श्रदाञ्जली आइरहेको छ ।

तर परिवार र अस्पतालले भने जोशीको उपचार भइरहेको जनाएका छन् ।