नेपाल-खनाल समूहको राष्ट्रिय भेला आजदेखि सुरु

  • प्रकाशित मिति : March 17, 2021
  • नेपाल ज्योति

काठमाडौं-नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाडौंमा शुरु हुँदैछ ।

बिहीबारसम्म चल्ने भेलाका लागि जिल्ला–जिल्लाबाट मंगलबार नै नेताहरु काठमाडौं आइसकेका छन् । नजिकका नेता–कार्यकर्ता बुधबार आइपुग्ने नेताहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल–नेपाल समूहले भेला गर्न लागेको हो । भेलामा दुई हजार बढी नेता–कार्यकर्ता सहभागी हुने जनाइएको छ ।

यो समूहले भेला आयोजना गर्न लागेपछि अध्यक्ष ओलीले वार्तामा बोलाएका थिए तर कुरा मिल्न नसकेपछि आजदेखि भेला आयोजना हुन लागेको हो । भेलाका लागि खनाल–नेपाल समूहले भीम आचार्यलाई प्रदेश–१, घनश्याम भुसाललाई प्रदेश–२, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी समेत दिएको थियो ।