जसपाको बैठक स्थगित

  • प्रकाशित मिति : March 18, 2021
  • नेपाल ज्योति

काठमाडौं- जनता समाजवादी पार्टीको कार्यकारीणी समितिको बैठक स्थगित भएको छ । तयारी नपुगेकाले बैठक स्थगित गरिएको नेता केशव झाले जानकारी दिएका छन ।
संसदीय दलको नेता र उपनेता चयन गर्न बैठक बस्न लागिएको थियो।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच गत वैशाखमा एकीकरणपछि जसपा बनेपनि एकीकृत दलले अहिलेसम्म नेता र उपनेता पाएको छैन।

नयाँ सत्ता समीकरणको कसरत चलिरहँदा जसपाले दलको नेता र उपनेता छनोट गर्न लागेको हो।

सत्ता समीकरणका लागि जसपा प्रतिनिधिसभाको निर्णायक दल बनेको छ । केपी शर्मा ओली नेतृत्वको वर्तमान नेकपा एमालेको सरकारलाई समर्थन गरेपनि सरकारले निरन्तरता पाउने अवस्था छ । त्यस्तै कांग्रेससँगै माओवादी केन्द्रलाई समर्थन गर्दा पनि नयाँ सरकार गठन हुन सक्छ ।

यस आधारमा निर्णायक बनेको जसपाको संसदीय दलको नेता को बन्ला ? भन्ने विषयलाई निकै चासोकासाथ हेरिएको छ ।

स्रोतका अनुसार जसपाको संसदीय दलको नेता चयनका लागि महन्थ ठाकुर र डा. बाबुराम भट्टराईको नाम चर्चामा छ ।