जिउँदै महिलालाई खाल्टोमा पुर्ने डोजर चालक पक्राउ

  • प्रकाशित मिति : March 19, 2021
  • नेपाल ज्योति

काठमाडौं-धादिङको सल्यानटारमा डोजरको ठक्करबाट घाइते भएकी महिलालाई जिउँदै खाल्टोमा पुर्ने चालकलाई प्रहरीले नेपाल-भारत सीमाबाट पक्राउ गरेको छ । १७ फागुनमा घाँस लिएर घर गइरहेकी त्रिपुरासुन्दरी गाउँपलिका १ की ४० वर्षीया सरस्वती कुमाल डोजरको ठक्करबाट खाडलमा खसेकी थिइन् । खाडलमा खसी घाइते उनलाई चालकले त्यहीँ पुरिदिएका थिए । उक्त घटनालगत्तै चालक भागेर भारतको हरिद्वार पुगेको सीआईबीका प्रमुख थापाले जानकारी दिए ।

आरोपी भीमबहादुर बुढाथोकीलाई सीआईबीको टोलीले कन्चनपुरस्थित नेपाल भारत सीमानाकाबाट पक्राउ गरेको हो । उनी भारततर्फ जाँदै गर्दा पक्राउ परेको सीआईबीका प्रमुख डीआइजी सहकुल थापाले जानकारी दिए । पक्राउ परेका बुढाथोकीलाई शुक्रबार दिउँसो सीआइबीले सार्वजनिक गरेको हो ।