निधन भएका काग्रेस सांसद केसी सहित प्रतिनिधिसभाको धेरै बैठकमा अनुपस्थित ११ जना सांसदको नाम सार्वजनिक

  • प्रकाशित मिति : March 19, 2021
  • नेपाल ज्योति

काठमाडौं- प्रतिनिधिसभाको १० बैठकभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसद ११ जना देखिएका छन् । आज बसेको संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको ११ भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको नाम पढेर सुनाएका थिए ।
सबैभन्दा धेरै नेपाली कांग्रेसका सांसद नागेन्द्र कुमार २५ बैठकमा अनुपस्थित भएका छन् । उनले अस्वस्थ भएकाले बैठकमा अनुपस्थित भएको कारण पेश गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसकै सांसद सूर्यबहादुर केसी २१ बैठकमा अनुपस्थित थिए । अस्वस्थ भएर संसद बैठक आउन नसकेका उनको निधन भइसकेको छ । नेकपा एमालेकी सांसद नविना लामा १९ बैठकमा अनुपस्थित भएकी छन्, उनले उपचारका लागि भारत गएकाले अनुपस्थित भएको कारण पेश गरेकी छन् । सांसद कलिला खातुन इद मनाउन जाँदा १७ बैठकमा अनुपस्थित भएकी छन् ।

नेकपा माओवादी केन्द्रकी सांसद यसोदा सुवेदी गुरुङ र निर्जला राउत १४ बैठकमा अनुपस्थित देखिएका छन् । अस्वस्थ भएका कारण उनीहरु बैठकमा अनुपस्थित भएको जानकारी दिएका छन् ।

त्यसैगरी, सांसद सुरेशचन्द्र दास १३ बैठक, गणेश सिंह ठगुन्ना महेन्द्रकुमारी लिम्बु, रुही नाज ११ बैठकमा अनुपस्थित भएका छन् ।

सांसद केदार सिग्देल १० बैठकमा अनुपस्थित भएका छन् । घरायसी कामले आउन नसकेको उनको भनाइ छ ।