एमाले संसदीय दलको विधान संशोधन, केन्द्रीय समितिबाट अनुमोदनको तयारी

  • प्रकाशित मिति : March 20, 2021
  • नेपाल ज्योति

काठमाडौं – नेकपा एमालेको संसदीय दलको बैठकले विधान संशोधन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले संशोधित विधान परित गर्दै उक्त विधानलाई केन्द्रीय समितिमा लैजाने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

बिहीबार बसेको एमाले संसदीय दलको बैठकले सांसदहरु विशाल भट्टराई, शेरबहादुर तामाङ र राष्ट्रियसभा सदस्य विमला राई पौडेल रहेको ३ सदस्यीय विधान संशोधन कार्यदल बनाएको थियो। कार्यदलले संशोधन प्रस्ताव तयार गरेको र सोही प्रस्ताव आजको बैठकबाट पारित भएको हो।

त्यस्तै संशोधित विधानमा दलको संसदीय बोर्ड २७ सदस्यीय रहेकोमा अव २९ सदस्यीय हुने बनाएको छ । त्यसैगरी दलको उपनेता दलको नेताले नै मनोनयन गर्ने व्यवस्था गरिएको मुख्य सचेतक भट्टराईले जानकारी दिए । संसदीय दलको बैठकमा माधव पक्षका ३८ जना सांसदले दलको बैठक विधि सम्मत नभएको भन्दै ध्यानाकर्षण गरेका थिए ।