काठमाडौँ, चैत १८ गते । राष्ट्रिय सरोकार समितिले राष्ट्रिय योजना आयोग र तथ्याङ्क विभागसँग आगामी जनगणनाको लागि भइरहेको तयारी र हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएको छ ।
समितिले गणकलाई प्रत्येक घरदैलोमा पुगेर वास्तविक तथ्यका आधारमा तथ्याङक सङ्कलन गर्ने कार्यमा कुनै कमी कमजोरी हुन नदिन आयोग र विभागको गम्भीर ध्यानाकर्षण गराएको छ । सरकारले आगामी जेठ २५ देखि असार ७ गतेसम्म बाह्रांै राष्ट्रिय जनगणना गर्दैछ ।
समितिको आजको बैठकमा सदस्यहरुले खासगरी बसाइँसराइ र विभिन्न पेशा व्यवसायमा संलग्न हुने सिलसिलामा शहर र विदेशमा जाने नागरिकको दोहोरो गणना हुनसक्ने सम्भावनालाई समयमै होस् पु¥याउन सुझाव दिनुभयो ।
जनगणनामा शिक्षा, पेशा, बसाइँसराइका अतिरिक्त विदेशमा रहेका नेपाली र नेपालमा रहेका विदेशीको पनि गणना हुन आवश्यक रहेको बताउँदै उहाँहरुले सही तथ्याङक सङ्कलन गर्न गणकहरु प्रत्येक घरमा पुगे नपुगेको अनुगमन गर्ने प्रणालीसमेत आवश्यक रहेको उल्लेख गर्नुभयो । जनगणनाको स्थलगत तथ्याङ्क सङ्कलन गर्न ३९ हजार गणक तथा आठ हजार सुपरिवेक्षक परिचालन गरिने सो अवसरमा जानकारी दिइयो ।
सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षताको संस्थागत विकास गर्ने बलियो आधार जनगणना भएको हुँदा सही तथ्याङ्क सङ्कलन गर्न सक्नुपर्छ भन्दै सदस्यहरुले सामाजिक रुपान्तरणका लागि कुप्रथाको जड र केन्द्रविन्दु मानिएका विषय पत्ता लगाउने गरी फारम विकास गर्न सुझाव दिनुभयो ।
कर र राजश्वलगायतका कारणले सही सूचना नदिने पाटोमा सुधार गर्दै जनगणनामा सबैलाई सहभागिताका लागि प्रेरित गर्न सु्झाव दिनुभयो । महिलाले घरभित्र गरेका कामको मूल्यको गणना हुन आवश्यक रहेको बताउँदै उहाँहरुले मुलुकभर सेवा क्षेत्रमा भएको विस्तारको अवस्था कस्तो छ भन्ने कुरा पनि जनगणनामा आओस् भन्नुभयो ।
नेपालले प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ । प्रत्येक वर्ष असार ८ गतेलाई जनगणना दिवसका रुपमा मनाउने गरिन्छ । यस वर्षको जनगणनाको मूल नारा मेरो गणनाः मेरो सहभागिता छ । (गोरखापत्रवाट साभार)