नयाँ सरकार बनाउन देउवाको प्रस्ताव, जसपाकाे असहमति

  • प्रकाशित मिति : April 9, 2021
  • नेपाल ज्योति

काठमाडौं – नेपाली कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)लाई आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन प्रस्ताव गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज बोलाएको तीन दलको बैठकमा आफ्नो पार्टीको नेतत्वमा सरकार बनाउन प्रस्ताव राखेको हो । स्रोतका अनुसार माओवादी केन्द्र त्यसमा सहमत भएपनि जसपाले यसबारे छलफल गर्न समय मागेकाले शुक्रबारको बैठकमा कुनै पनि सहमति भएको छैन ।

बैठकमा देउवाले पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार माओवादी केन्द्र र जसपासँग मिलेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव गरेका हुन् ।

देउवाले बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी बाटोमा अगाडि बढेको तर्क गरे । बैठकमा देउवाले भने, ‘यस्तो सरकारको नेतृत्वमा लोकतान्त्रिक चुनाव हुन सक्दैन । त्यसेले नयाँ सरकार बनाउन चाहेका छौं । त्यसबारे तपाईंहरुको धारणा के छ ?’

जसपा नेताहरुले भने बैठकमा नयाँ सरकारको औपचारिक प्रस्ताव आएकाले पार्टीमा छलफल गर्ने र यसबारे छिट्टै निर्णय गर्ने बताएको छ । माओवादी केन्द्रले भने वर्तमान सरकारको विकल्प खोज्ने देउवाको प्रस्तावमा सहमति जनाएको छ ।