३८१ जनालाई ‘लोकतन्त्रका योद्धा’ सम्मान

  • प्रकाशित मिति : April 14, 2021
  • नेपाल ज्योति

काठमाडौं-  सरकारले ३८१ जनालाई ‘लोकतन्त्र योद्धा’ सम्मान गरेको छ । २०६२–६३ को जनआन्दोलन, माओवादी सशस्त्र युद्ध र मधेस आन्दोलनमा ज्यान गुमाएकाका परिवार, घाइते तथा अपाङ्गगता भएकाहरु तथा १७६ जना बहिर्गमित पूर्वलडाकूहरुलाई लोकतन्त्रका योद्धाको रुपमा सरकारले सम्मान गरेको हो ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्र दिएका छन । तर प्रधानमन्त्रीलाई गाह्रो भएपछि गृहमन्त्री रामबहादुर थापा बादलले खादा लगाइदिए भने उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्मानपत्र दिएका छन ।

२०६२–६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थलाई भने काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले दोसल्ला र प्रमाणपत्र प्रदान गरेका छन । त्यसको लाइभ भिडियोबाट प्रधानमन्त्री ओलीले लोकतन्त्रका योद्धाका रूपमा सम्मान गरेका छन ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले योद्धालाई सम्मानको शुरुवात मात्रै गरिएको र ७७ वटै जिल्लामा सम्मानित गरिने जानकारी दिएका छन । उनी लोकतन्त्रका योद्धा अभिलेखिकरण तथा सम्मान समितिका संयोजक पनि हुन् ।

जिल्लामा भने प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘लोकतन्त्रका योद्धा अभिलेखीकरण तथा सम्मान समिति’ गठन गरिएको छ ।

कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले केपी शर्मा ओलीको नेतृत्वमा सरकार भएकाले सम्मान सम्भव भएको बताएका छन । उनले यसअघि माओवादी नेतृत्वको सरकार भएको भएपनि यस्तो सम्मान हुन नसकेको बताएका छन ।