काठमाडौंबाट घर फर्कनेहरुको संख्या बढ्यो, लामो दूरीकाे टिकट अभाव

  • प्रकाशित मिति : April 27, 2021
  • नेपाल ज्योति

काठमाडौं – सरकारले आउँदो बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेसंगै काठमाडौंबाट घर फर्कनेहरुको लर्को लागेको छ । यसअघि सोमबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले घर फर्कन चाहनेहरुका लागि भन्दै २ दिनको समय दिएको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबार दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै आज बिहानैदेखि नयाँ बसपार्कमा घर जान यात्रुहरुको भीड लागेको हो । लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो गरेका छन् । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले बिहानदेखि नै नयाँ बसपार्कमा भीडभाड बढेको बताए । नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । नयाँ बसपार्कमा दैनिक ८०० देखि एक हजार सार्वजनिक यातायात दैनिक ओहोरदोहोर गर्दै आएका छन् ।

सिसिएमसीको निर्णयलाई सदर गर्न सोमबारै बसेको मन्त्रिपरिषद बैठकले बैशाख १६ गतेदेखि दुई साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेपछि आज विहान काठमाडौंका विभिन्न नाकाहरुमा घर जाने सर्वसाधारणहरुको घुँईचो देखिएको हो ।