कास्की र रुपन्देहीमा जोर बिजोर प्रणालीमा सार्वजनिक यातायात खुल्ने

  • प्रकाशित मिति : June 28, 2021
  • नेपाल ज्योति

काठमाडौं- कास्की जिल्लाभर बुधबारदेखि जोर-बिजोर प्रणालीमा सार्वजनिक यातायात खुल्ने भएको छ । असार २५ गतेसम्म निषेधाज्ञा लम्ब्याउँदै सार्वजनिक यातायात खुला गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कास्की प्रमुख थानेश्वर गौतमले जानकारी दिए ।

यसैगरी रुपन्देहीमा सार्वजनिक यातायात जोर-विजोर प्रणालीमा चल्न पाउने गरी एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को सोमबार बसेको बैठकले व्यवसाय सञ्चालन खुकुलो पार्दै असार २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

थपिएको निषेधाज्ञामा सार्वजनिक सवारी चलाउन दिने निर्णय डीसीसीएमसीले गरेको छ । सार्वजनिक यातायातलाई सञ्चालन दिने र सवारी भाडामा ५० प्रतिशतले वृद्धि गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पूरा गर्ने र दैनिक रुपमा सवारीसाधनलाई निसंक्रमित गरी व्यावसायीले सार्वजनिक यातायात सुचारु गर्न पाउनेछन् ।