काठमाडौं । सरकारले आन्तरिक हवाई उडान खोल्ने निर्णय गरेसँगै आगामी बिहीबारदेखि देशभित्र हवाइ यातायात सञ्चालन हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान हुने गरी तालिका तयार पारेको छ ।
बुद्ध एयरले दैनिक ३१ उडानको अनुमति पाएको छ । यति एयरलाइन्सले १५, श्री एयरलाइन्सले ७, सौर्य एयरलाइन्सले ३ उडान पाएको छ । दुर्गम भेगमा उडाउने कम्पनीले भने काठमाडौंबाट दैनिक ८ वटा उडानको अनुमति पाएका छन् । अहिले काठमाडौंबाट तारा एयर र समिट एयरले मात्र दुर्गममा उडान गर्दै आएका छन् । सीता एयरले दुर्गममा उडाउने भएपनि उसले क्षेत्रीय विमानस्थललाई आधार बनाएर दुर्गममा सेवा दिइरहेको छ ।
नेपालमा २० वैशाखमा बन्द भएको आन्तरिक उडान असार १७ गतेदेखि सञ्चालन गर्दा प्रतिघण्टा ५ वटा मात्र उडान हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको उडान तालिकाअनुसार वायुसेवा कम्पनीहरुले टिकट बुकिङ थालेका छन् ।