क्यानडामा उखरमाउलो गर्मी, ज्यान गुमाउनेको सङ्ख्या ६० नाघ्यो

  • प्रकाशित मिति : June 30, 2021
  • नेपाल ज्योति

क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभरि तापक्रम बढिरहँदा कैयौँ मानिसहरूको मृत्यु भएको छ।

ब्रिटिश कोलम्बियास्थित प्रहरीले सोमवार यता ज्यान गुमाउनेको सङ्ख्या ६० नाघेको जनाएको छ र त्यसमा ज्येष्ठ नागरिकहरू धेरै छन्।

उक्त क्षेत्रमा गर्मी बढ्दा त्यसले मानिसहरूको मृत्यु भएको बताइएको छ।

ब्रिटिश कोलम्बियास्थित लीटनमा तापक्रम आइतवार ४६.६ डिग्री सेल्सियस थियो भने सोमवार बढेर ४७.९ डिग्री सेल्सियस पुगेको थियो।

यो साता अघि क्यानडामा कहिल्यै पनि ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको थिएन।

भ्यानकुभरको बाहिरीबस्ती रहेको बर्नेबीमा रहेका रोयल क्यानडियन माउन्टेड प्रहरी माइक कलान्जले भने, “आफ्ना छिमेकी, परिवारका सदस्य, ज्येष्ठ नागरिकको के भइरहेको छ, खोज्नुहोस्।”

“यो मौसम हाम्रो समुदायका जोखिममा रहेका सदस्यहरूलाई घातक हुनसक्ने हामीले देखिरहेका छौँ, खासगरी ज्येष्ठ नागरिक र पहिला नै स्वास्थ्य समस्या भएकाहरू बढी जोखिममा छन्।                             यस्तो अति गर्मीका बेला हामीले एकअर्काबारे बुझ्नु अति आवश्यक छ।” ( नेपाली विविसी वाट साभार)