नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह

  • प्रकाशित मिति : July 8, 2021
  • नेपाल ज्योति

काठमाण्डौ – जिल्ला प्रशासन कार्यालय चितवनले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै नारायणी, राप्ती, रिउलगायत ठूला साना नदीमा पानीको सतह बढिरहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । माडी क्षेत्रको वनकट्टा, कल्याणपुर, छरछरे, गोविन्दबस्ती र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले उच्च सावधानी अपनाउन प्रशासनले आग्रह गरेको हो ।

यस्तै इच्छाकामना, कालिका, राप्ती र भरतपुर महानगरपालिका– २९ लगायतका पहाडी भूभागमा भूक्षय र पहिराकोसमेत जोखिम रहेको कार्यालयका सूचना अधिकारी खेमराज पौडेलद्वारा जारी सूचनामा जनाइएको छ । बाढी आएको समयमा नदीनालामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा सङ्कलन गर्ने जस्ता जोखिमयुक्त कार्य नगर्न नगराउन सबैमा अनुरोध गरिएको छ ।