सकियो मन्त्रिपरिषद् बैठक, के-के भयो निर्णय ?

  • प्रकाशित मिति : July 15, 2021
  • नेपाल ज्योति
संसद गतिरोध अन्त्य प्रयास

काठमाडौं- प्रतिनिधिसभाको बैठक साउन ३ गते बस्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते बैठक बस्नेगरी प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सर्वोच्च अदालतको फैसलाबमोजिम पुनःस्थापित प्रतिनिधिसभा बैठकको अधिवेशन बोलाउने निर्णय भएको जानकारी दिए ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार प्रतिनिधिसभा विघटन बदर गर्दै संसद अधिवेशन साउन ३ गते ५ बजेभित्र बोलाउन आदेश दिएको थियो ।

त्यस्तै सरकारले द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित दुई आयोगको म्याद थप गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको हो ।
दुबै आयोगका पदाधिकारीको म्याद पनि एक वर्ष थप गरिएको बैठकपछि गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।