नेपाल ज्योति, पुस २७ –
घरेलु हिंसा भन्ने बित्तिकै तपाई हामी के बुझ्छौ ? श्रीमान वा सासु ससुराबाट हुने अत्यचार वा कुनै पनि घर भित्रको घटना भनेर । तर आजकाल बड्दो रुपमा घरेलु हिंसा घर भित्र मात्र नभइ खुलाआम त्यसको प्रभाव बाहिर तिर पनी देखीन थालिएको छ ।
यस्ता हिंसाका घटना कति छन् कति गनेर साध्य छैन । तर आज हामी घरेलु हिंसा के हो भन्दा पनि यसरी तिव्र रुपमा बड्नुको कारण के हो ? अनि यो सब हुनु को जिम्मेवार को हो त ? भन्ने बारे कुरा गरौ ।
हामी कतिपयलाई लाग्ने गर्छ अक्सर यस्ता घटना अशिक्षित घर-परिवारमा शिक्षाको कमीले हुने गर्छ वा अनि दुर-दराजका गाउँ घर तिर मात्र धेरै हुने गर्छ ! पढेलेखेका ठुला घराना भित्र यस्ता घटना झन् धेरै देखिन्छ भनेर हामी कसैले सोचेको सम्म पनी हुँदैनौ ।
एउटा तितो सत्य यो पनी हो कि हरेक शहर, अधिकाँश घर, चोक, गल्लीमा घरेलु हिंसाका असर देखिन थालेका छन् । सानो झुपडी देखी ठुला ठुला महल भित्र सम्म यस्को भिन्न भिन्नै काहानी लुकेको छ ।
उच्च सामाजिक बर्ग वा घरानिय परिवारका नारी सदस्यले फेशनको नाममा कयौं नारीहरु कालो चस्मा लगाउने गर्छन । कालो चस्मा भित्र हरेक घर भित्रका पिडा भरिएका काहानी, रुन्चे अनुहार, सुनिएका आँखाहरु लुकेका हामीले देखेको छैनौं ।
कयौं नारी त यसकारण मात्र पनि श्रृंगार गर्छन् कि श्रृंगारको साहारा लिएर अनुहारको निराशापन लुकाउन र सामाजको अगाडी आफु खुशि छु भनेर देखाउन सकीयोस । आखिर यो सकस नारीहरुलाई कहिले सम्म र किन ??
के कहिले हामी र हाम्रो समाजले यो पर्दा भित्रका कुरा देख्न सकेका छौं ? यसकारण नदेखिएको होइन कि हाम्रो आँखा अगाडी यस्ता घटना कहिले घट्दैन् । मात्र यसकारण देखिदैनन् किन भने हामी देख्ननै चाहदैनौ। देखी-देखी कयौ पटक नदेखे जस्तो गरेर हिडेको पनि छौं ।
यदी घर छिमेक कतै कसैको झगडा परेको सुने, यात घरको झ्याल ढोका बन्द गर्छौ या त टि. भी को ध्वनि बढाएर बहिरो र अन्धो बनिदिन्छौ । सधैं यहि भनेर टारी दिन्छौ कि बुडा-बुडीको झगडा परालको आगो झैं बिचमा पर्नु हुँदैन ।
भोलि पल्ट बिहान पुलिसको गाडी आउछ । अनि सबैलाई कौतुहल्ता हुन्छ । अनि बल्ल निस्कन्छौ रमिते बनेर रमिता हेर्न । भित्रबाट लाश निस्कन्छ। अनि सुनिन्छन् बिचरा, कठैबरा, सोझी थिई, राम्री थिई, छोरा छोरीको बिजोक हुनेभयो ।
बल्ल समाजले यी सबै कुरा देख्छन् । समाज होसमा आउछ । यहि होस केहि समय अघी मात्र आएर समाज मध्येका भद्र-भलादमी बाहिर निस्कि दिएको भए सायद यो घटना नै घट्ने थिएन ।
अब एकछिन घरपरिवार तिर छिरौ केहि महिना अघि छोरीले रुँदै फोन गर्छे । परिवारले यो सोध्दैनन् की के भयो ? कस्तो छ तिमिलाई ? प्रश्न यो हुन्छ की परिवारलाई कास्तो छ ? ज्वाई कता छन ? राम्रो सित घरको काम गर्नु, परिवार रिझाउनु , कसैलाई बचन नलगाउनु ।
मन भरी गुनासो बोकेर फोन गरे की छोरीले मनको गाँठो फुकाउनै सक्दिन । फुकाईहाले पनि नतिजा के आउँछ ?
साहनुभुति, अर्त्ती उपदेश गाली अनि उही नेपाली ऊखानहरु छोरी मान्छे भए पछी सहन सिक्नुपर्छ । छोरी मान्छे पृथ्वी बन्नुपर्छ । चाल्नो जस्तो भएर प्वाल पारिनु पर्छ र घरका सारा नराम्रा कुरा चाल्नाले छाने झैं समेटेर घरलाई पवित्र राख्ननु पर्छ । हामिले पनि त सहेर नै आएका हौं ।
अब त्यो छोरीसंग के बिकल्प रहयो ?
जबकी आमालाई राम्रो सित थाहा छ । यउटी नारीको जिन्दगीमा कति सङघर्षहरु हुन्छन्, अनि कति उतरचढाव हुन्छन् । उसलाई परिवारको साथको कति जरुरत हुन्छ भनेर । गलत गलत नै हो तर हामी जवरजस्ती समाजमा चल्दै आएको नियमको नाममा त्यसलाई सहि बनाई दिन्छौ ।
अनि त्यसको नतिजा ?? केही समय पछी छोरीको लाश । एउटा परिवारले त्यो छोरीको शव भन्दा भारी त समाजको हेर्ने नजर हुन्छ । समाजले यति बाध्य बनाई दिएको छ की छोरीको लाश बुझ्न मन्जुर छ । तर समाजमा भोलि हुने बदनामी सहन मन्जुर छैन । अनि हामी आफै भन्छौ समाज बदलिएन, मान्छेको सोच परिर्वतन भएन ।
समाज को हो ? तपाई हामी आफै मात्र होइन, भोलिका तपाई हाम्रो छोरा छोरी हुर्किने यहि समाज होइन ? के यस्तै समाजमा बिहे गरेर आफ्नो छोरी दिन तयार हुनुहुन्छ तपाई ? अनि वास्तविक दोशी को रहेछ त घरेलु हिंसा बड्दै जानुमा ? एक पटक समय रहदै सोच्ने हो कि ?
मैले यो भन्न खोजेकी होइन की तपाई हामिले गर्दा मात्र यस्ता घटनाहरु घटेका हुन तर तपाई हामिले वास्ता नगर्दा बढेको भने पक्कै हो ।
कालो चश्माको त्यो आकर्षणमा, श्रृंगारले धपक्क भएर लुकाएको घरेलु हिंसा जुन दिन सडकमा छताछुल्ल हुन्छ त्यो दिन मात्र घरेलु हिंसामा केहि कमि हुन थाल्छ, यसका लागि पनि उच्च एबं मध्यम घरानियाँमा परिवारका नारि तथा पुरुषको अहं भुमिका रहन्छ नै ।
अनि अलि कति मात्र सजग हुने, घर, गाउँ र समाजमा घरेलु हिंसा बिरुद्ध मौलिक आवाज उठाउने र बोलिदिने हो भने पनि हाम्रो समाजमा धेरै हदसम्म घरेलु हिंसा रोक्न र नेपाली समाजलाई हिंसा मुक्त समाजमा निर्माण गर्मान सहयोग पुग्नेछ ।