नेपाल ज्योति, माघ २ –
रातभरि परेको पानीले दिन चिसो भयो । घाम पनि लागेन। हिजो लागेको घामको मायाले आमाले सबै न्यानो लुगा धोइ दिनु भएछ । पुसको जाडोमा धोएको लुगा सुक्नु पनि ठुलो कुरा हो । अफिस जान ढिलो भएका करण आज के लगाएर जाउँ भनी दराजमा लुगा खोज्न थालें । तातो खालको केही भेटिन त्यतिकैमा हातमा रातो ज्याकेट आयो ।
त्यहिरातो ज्याकेट जुन पोहोरको जाडोमा मात्रै खाइ न खाइ कति मायाले वाहाँले किनिदिनु भएको थियो । मलाई याद छ आज पनि मलाई निलो ज्याकेट मन परेको थियो ।
तर हातमा रातो राखि दिदैं मायाले भन्नु भएको थियो तिमिलाई रातो रङ सुहाउँछ काली । मेरो मन पर्ने रंग भने निलो । मैले नमानेको देख्दा देख्दै पनि फेरि भन्नु भयो रातोमा तिम्रो अनुहारको चमकनै बेग्लै देखिन्छ । आँखा तर्दै सोधेको थिएँ, कस्तो अर्को भनेको वहाँले हास्दै भन्नु भयो मुस्ताङको बोटमा पाकेको रातो स्याउ जस्तो ।
वाहाँको कुरा सुनेर पसल्नी दिदी पनि खित्का छाडेर हाँस्नु भयो । मलाई थाहा छ, वाहाँलाई तारिफ गर्न आउँदैन फेरि पनि जानी-जानी सोधेकी थिएँ । वाहाँलाई धेरै कुरा आउँदैन माया देखाउन , फकाउन, हक जताउन तर म आफैं बुझ्दथे, जसरी एउटा आमाले आफ्नो सन्तानको तोते भासा नबुझिने भए पनि बुझ्न सक्थिन् ।
हाम्रो प्रेम पनि तेस्तै थियो । मबाट प्रेमको परिभाषा बुझेको वाहाँले र वाहाँबट मायाको वास्तविक महत्व बुझेर सुरु भएको हाम्रो प्रेम नभनेरै एक अर्का लाई के मन पर्छ, सुइकार, असुइकार सारा भासा बुझ्थियौ हामी ।
बाहिर रिसाएझै गरी भित्र खुसी हुँदै किनेको त्यो रातो रङ उस्को मायाको रङ्ग। निकालेर लगाए । तेतिकैमा आमा भित्र छिर्नु भयो मलाई नियालेर भन्नू भयो यहि लाउने हो र !
आज मैले आमाको भाव बुझी सकेको थिएँ, वाहाँको मलिन अनुहारमा सोध्न खोजेको कुरा प्रस्ट देखाएको थियो । तर पनि न बुझे झै सोधे किन आमा ?
मलाई थाहा छ आमालाई त्यो नलगाई दिए हुने थियो जस्तो भएको थियो । आमाले तेस्तो सोध्नु कुनै नौलो पनि थिएन । मेरा लागि जो कोहि नै भए पनि म सित तेहि प्रश्न गर्ने थिए ।
म त्यो समाज मा हुर्केकी छोरी हुँ, जस्लाइ श्रीमान बितेपछी सेतो बाहेक कुनै रङ लगाउने अधिकार् छैन। मैले त झन रातो लगाएको थिएँ त्यो पनि बर्ष दिन नबित्दै । म यो भन्दिन कि मेरि आमाको सोच पुरानो रुढीबादी भएको कारण आमाले प्रश्न गर्नु भएको हो ।
किनकी मलाई थाहा छ मेरि आमा आफैंमा एक स्वतन्त्र सोच भएकी नारी हुन् ।आमाको सोच र देखाएको बाटोहरुले गर्दा नै म आज स्वाभलम्बी भएर हिड्न सकेकि छु ।
तर जुन समाजमा म बस्छु तेहि समाजले दिनभरी घर बस्ने मेरि आमाको कानमा फलनाले यसो भन्यो तिलानाले यसो भन्यो भनेर वाक्क बनाएको हुँदा सकेसम्म एस्ता कुरा सुन्न नपरे हुन्थ्यो भन्ने मात्रै आमाको चाहाना हो ।
कुनै बेला अरुको घरमा एस्ता घटना पर्दा एस्तो भन्नु हुन्न, सोच्न हुन्न भनेर सिकाउने मेरि आमा आज आफू माथी र आफ्नै छोरी माथी एस्तो बिपत्ति पर्दा मन भित्र दबिएकी छिन ।
कारण भोलि हामी बस्ने यहि समाजले उल्टोसुल्टो कुरा बनाएर आफू जन्मे, हुर्के, बस्दै आएको समाज छाड्नु नपरोस । कति शक्तिशाली छ यो समाज अनि कति विवस छौं यहि समाज भित्र बस्ने हामी चेतनशिल मान्छे ।
म घरबाट निस्किएँ तर बाटोभरी यिनै प्रश्नहरु खेलीरहे मन भित्र, के साच्चै रातो रङ बिधुवाले लगाउनै नहुने रङ हो त ? यदि हो भने सेतो रङ पनि त बिहे भएकाहरुले छुनै नहुने नियम किन बनेन ? बिबाह नभएको किशोरीहरुलाई बिबाह अघि रातो रङका लुगा किन लगाउन दिइयो ? उनीहरुको लागि सिमित रङ किन तोकिएन जसरी बिधुवाको लागि सेतो रङ तोकियो । कुन ग्रन्थले भनेकोछ बिदुवा भएपछि रातो लगाए अशुभ हुन्छ ? अनि कुन वैदिक शास्त्रले भनेकोछ बिधुवाले सेतो लगाए मात्रै श्रीमानको आत्मालाई शान्ती हुन्छ ?
रङकै हिसाबले कुरा गर्ने हो भने रातो रङमा तिम्रो भन्दा बढी हक मेरो लाग्छ । जन्म लिने बेला आमाको पाठेघर भित्रबट रगताम्य भएर संसार जित्छु भनेर भएभरको बल निकाल्दै जन्म लिँदा म आमाको रगतले रातै भएकी थिएँ ।
म बसेको साथिलाई नाभी सँग काटदा मेरो रातो रगत निस्किएको थियो। मेरी आमाले पहिलो पटक मलाइ देख्दा आमाकै रातो धोतीमा पोको पारेर नर्सले आमाको हातमा हाल्दिएकी हुन रे ।
उज्याल्यो रातो बर्णको थिइस त पोक्ची भन्नु हुन्छ, अझै पनि म जन्मदाँको पल सम्झिदा । मेरा गाला सधै राता हुन्थे रे आजकाल नि डर, खुसी, गर्मी, जाडोमा रातो हुन्छु म ।
रातो रिबन, राता डोरा, राता घाँघर लगाएर मेरा बाल्यकाल बितेका हुन्। यस हकमा हेर्ने हो भने रातो मेरो जन्मे देखिकै अधिकार हो । यदि रातो धारण गर्नु पाप नै हो भने कसैले भनिदेउ मेरो गालाको रङलाई अब म सेतो कसरी बनाउ ?
प्रत्येक महिना म रातो रगतमा भिजेको हुन्छु, त्यो महिनावारीको रगत जुन म भित्रबाट बग्छ, त्यो रगत धुँदा रातै हुन्छन मेरा हातहरु त्यो रगतलाइ सेतो कसरी बनाउ ? जब प्रकृतिको रङ नै रातो छ भने प्रकृति भन्दा ठुलो मान्छेले बनएको नियम कसरी भयो ?
पुस्ता देखि चली आएको भन्ने हो भने हाम्रो पुस्ताका सुरुवाती दिनमा न कपडा नै थिए न रङहरु । उसबेला त कसैले रङको विभाजन गरेन ? कि उबेला मान्छे नै मर्देन थिए ?
जब देखि एउटी नारी बिधवा हुन्छे उस्को जिबनको पाटोमा परिर्वतनहरु सुरु हुन्छन् । अक्सर परिवर्तन दुई थरी को हुन्छ कि जिन्दगी उथलपुथल हुन्छ कि जिन्दगी सहज । हरेक परिवर्तनले समाजको स्थिति वद्लिएको हामिले देख्दै आएको छौं ।
यसले पनि एउटी नारीको जिन्दगीलाई त्यसरी नै उथलपुथल बनाइ दिन्छ । समाजले हेर्ने नजर नै परिर्वतन गरी दिन्छ। । श्रिमानसँग बिछोडिनुको पीडा त छँदैछ तर हरेक क्षण यो सम्झाउन आजबट उ एक्लो भएकी छे । पुछि दिन्छ्न् सिउँधो, फुटाइ दिन्छ्न चुरा उसलाई संसार सकिएको आभास गराउँछ्न् ।
हरेक रङको अर्थ भिन्ना भिन्नै हुन्छ । रातोले प्रेम ,सेतोले शान्ति, हरियोले सुःख, निलोले क्रान्ति, रङहरुको भिन्दा-भिन्दै महत्व र अर्थ हुन्छन् । फेरी किन जवरजस्ति १३ दिनको काम सकिए पछी पनि नारीलाई सेतो चोलो मै बाँधेर राख्नन खोज्छ यो समाज र ? हरेक नारिको मनमा किन यो भ्रम समाजले राखिदिन्छ आजबट सेतो रङ जस्तै तेरो जिन्दगीको खुशीहरु सकिएका छ्न् ।
रङहरु नारीको जीवनबाट खोसेर यहि महसुस गराइ रहेका हुन्छन् कि आज देखि तेरो जीवनबाट यी सब कुरा सकियो । रङहरुले उर्जा दिन्छन् र तेहि उर्जा झन दुःखी भएको ब्यक्ती बाट खोसिनु कत्तिको जाएझ हो ? सेता रङले निसासिएको जिन्दगी कस्तो हुन्छ ? महसुस गर्नेलाइ सोध्नुस । मलाइ सोध्नुस, म जस्ता ति हजारौं लाखौं बिधवालाई सोध्नुस, जस्ले आफ्ना जिबनमा आफुले माया गर्ने व्यक्तीहरुलाई सधैं सधैंको लागि गुमाएका छन् ।
जब मेरो सिन्दुर पुछिंदै थियो, एस्तो लाग्यो मानौ तिनीहरुले मेरो टाउकोमा तीखो ढुङाले हानेर रगत निकालिदिए । मेरो सिन्दुर जति पखालिन मानीरहेको थिएनन्, त्यति नै जवरजस्तीले बल लगाएर मेरो सिउँदो रगड्दै थिए मानौं उनिहरु इतिहास रच्ने वाला छन् ।
भोलि मेरो ठाउँमा उनिहरुको सिउंँदो पुछिंदा मेरो सिउँदो पुछेको यिनले याद गर्लान कि नगर्लान ? मेरो मनमा यहि प्रश्न थियो, म माथी दयामाया देखाउदैं रुदैं मेरै सिउँदो पुछ्नेहरु सित मलाई भने कुनै आत्मियता महसुस भएन, किनभने तिनै मध्ये केहि चितामा लाश जल्दै गर्दा भन्दै थिए बाजेलाई विवाह फापेन , कोहि भन्थे तेहि भएर बुडालाई जुठो दिनु हुन्न भन्दा हाम्रो जास्तो पिरिम कसैको छैन भन्दै एउटै थालमा खान्थे आयु घट्यो , ति मध्ये एउटी भन्दै थिई छोरा जन्मदाको तिथिले बाउ खाको थियो रे त !
यस्तै यस्तै साउतिहरु धेरै भए मेरो पछि मैले सुनें, तर पछाडि फर्केर हेरिन किनकि म चाहन्न थिएँ भोलिको दिनमा तिनिहरुको अनुहार देख्दा मलाई घृणा पैदा होस ! त्यसै बेला कोहि आयो र बल गरेर मेरो मुन्टो लाछिने गरि मेरो पोते चुडाइ दियो, मलाई मेरो घाँटीमा धारीलो खुकुरीले रेटे जस्तै आभास भएको थियो ।
मेरा लुगा शरीर मै च्यातिदा ,जिन्दगी उधारिए जस्तो लाग्यो। मेरो शरीरमा उनिहरुको मनोमानी चलीरह्यो, म जिउँदो लास जस्तै भएकी थिएँ, मलाई नचलाउन भन्न पनि सकिन ।
बस् आँसु झरीरहे । मलाई कसैले एक वचन सोधेन म के चाहन्छु ? मैले एक पटक माया ले त्यो पोतेलाई छुन पनि पाएकी थिइन जुन अब बाट कहिले लगाउन पाउने छैन । यति हतारले मबाट सब थोक खोसियो, कति हतार र ?
यो समाजलाई एउटि नारीको रङ खोस्न ? अनि भन्छ्न के गर्नु भगवान को इच्छा यहि रहेछ । जुन भगवानलाई तिमी र मैले दिनरात पुजा गर्थ्यौं, मन्दिरमा गएर सेवा गर्थ्यौं भोको बसेर तपस्या गर्थ्यौ, के ती भगवान ले यिनलाई आएर भने होलान त ?
म सित मेरो मायाको रातो रङ खोसेर सेतो लागाइ देउ भनेर ? देउताको मन्दिरमा त सबै कुरा रातो हुन्छ । फेरि किन ती देउताले सेतो रङ लगाउन भने ? के अब मैले देउताको पुजा नगर्दा हुन्छ उसो भए ?
देउताले पनि मलाई बहिस्कार नै गरेका हुन त ? मेरो बस चल्थो भने म पुछ्नै दिने थिइन ती सिन्दुर अनि चुडाउन दिने थिइन पोते । तिम्रो हातको सिन्दुर लगाउने निर्णय मेरो थियो लगाइ दिने निर्णय तिम्रो । फेरि हाम्रो सहमतीमा लगाइएको कुरामा समाजको हक कसरी लाग्छ ? कस्ले दियो अधिकार तिमिले किनि दिएको चुरा फुटाउने ?
म जान्दिन यो समाजको नियमले के भन्छ । समाजको नियमले सायद यहि भन्छ कि रङहरु त्यागे मात्र श्रिमान प्रतिको माया दर्शिन्छ । तर मेरो नियमले सधै यहि भन्छ माया गर्ने मान्छे सँग जोडिएका कुरासंग जोडिनु माया हो त्यस्लाई त्याग्नु होइन ।
मान्छे मरेर गए पछि सन्सार छोडेर जान्छ तर उस्को अस्तित्व त बाकी नै हुन्छ । बांकि भएको अस्तित्वको आधारमा मान्छेलाई त्यसै सित बाच्न किन दिइंदैन ?
जब मैले रङहरु फुकाएर तिमिले मायाले किनिदिएका लुगाहरु लगाएर हिडन् थाले धेरैले भने अरे श्रीमानको मृत्युले फरक परेको भए पो शोकमा बस्थी । माया लागेको भए यति छिटो किन रंगीचंगी हुनु पर्थ्यो, माया भएको भए धर्म मानेर बस्थि ।
माया ! म जान्दिन तिनिहरु कस्तो मायाको कुरा गर्दै थिए। मैले चिनेको मायाको अर्थले त मलाई तिम्रो यादहरु सम्हालेर बाँच्ने प्ररणा दिएको थियो, म भित्रको हिम्मत तिम्रै मायाको उपज थियो । मेरो लागि त प्रेम एउटा आभास थियो मलाई बस यति थाहा छ, रातो रङ प्रेमको निसानी हो ।
तिम्रो र मेरो सुरुवात प्रेम दिवसबाट रातो गुलाफ संग भएको दिन । रातो रङसित मेरो कयौं भावना जोडिएका छ्न् । प्रेम कुनै भौतिक दुरिमा नापिने कुरा नै होइन । बारम्बार सबै भुलेर जिन्दगी जिउनु पर्छ भन्नेहरुलाई के थाहा, मैले तिम्रो यादलाई जिन्दगी जिउने आधार बनाएको छु भनेर ।
प्रत्येक दिन तिम्रो फोटो नहेरि न दिनको सुरुवात हुन्छ, न रातको । तिम्रो लुगाहरुलाई आज पनि उति नै सम्हालेर राखेकी छु, जती तिमी हुँदा राख्दथें । तिमी सन्सारमा छैनौ भनेर होइन तिमि वरि-परिछौ भनेर दिन काट्छु म ।
तिमिले पहिलो भेट हुँदा लगाएको देखि अन्तिम बिदाइ सम्म लगाएको कपड़ा मलाई याद छ । तिमीले खाने थालमा खाँदा तिम्रो हातले खुवाइ दिए झै आनन्द लाग्छ, तिम्रो लुगा सिरानी हालेर सुत्दा बल्ल निद्रा लाग्छ ।
यो प्रेम नभएर केहो रु तर प्रेम छ भन्दैमा तिनिहरुले भने झैं सेतो पहिरनमा आफुलाइ लुकाएर आफु कमजोर भएर आफ्नो अस्तित्वनै सकेर बिचारा भएर जिन्दगी काट्नु छैन मलाइ । मैले लगाएर हिडेको सेतो पहिरनले मलाइ फलनाको बिदुवा भनेर चिनिनु छैन । मलाइ हेर्नेहरुले मेरो सफलता हेरेर भनुन्, उ हेर फलनाको श्रिमतिले श्रिमान र परिवारको नाम राखेर हिंडेकि छ।
फलनाको श्रिमती बिचरा भनेर चिनिनु छैन । फलनाको श्रिमती कति बहादुर भनेर चिनिनु छ । बस यहि कारण मैले रङ बारिन र सेतो धारण गरिन। बार्नेहरुसित मलाई कुनै आपत्ती छैन पनी।
आफ्नो खुशिको कुरा हो । जस्को मनमा सधैंको लागि जिउदो छौ, उस्ले तिम्रो लागि केहि बार्न जरुरी छैन पनि ।जसले शरीर सङ्गै उनिहरुलाई जीवनबाट निकाले तिनीहरुको लागि बनेको होला सायद यो नियम ।
आज पनि म जब घर बाट रातो लगाएर निस्किन्छु नि, मेरो पछाडी हरेक ओठले मेरै गित गाउछन् मलाई थाहा छ। समाजलाई गाई रहन देउ जिन्दगी नाच्ने भनेको आखिर समयको तालमै हो । मेरा कानमा भने तिमि र मैले गुन गुनाउने उही धुन बज्छ-“रङ सारी गुलावी चुनरीया रे……..!”