फागुन ११ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक काठमाडौंमा हुने

स्थानीय तहको निर्वाचन केन्द्रित कार्यक्रम तय हुने

  • प्रकाशित मिति : February 12, 2022
  • - यमुना आचार्य
राजनीतिक

नेपाल ज्योति, माघ २९- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी फागुन ११ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौंमा बस्ने भएको छ । स्थानीय तहको निर्वाचनमा उमेदवार छनोट, उम्मेदवार उठाउनका लागि नामावली तयार गर्ने मापदण्डका बारे विशेष छलफल हुने बैठकमा समसामयिक विषयवस्तुमा समीक्षा समेत हुने नेताहरुले वताएका छन् ।

यसैगरि  जिल्ला कार्यसमिति र स्थानीय तहअन्तर्गत समितिका सिफारिसमा फागुन मसान्तभित्र उम्मेदवार छनोट गर्ने कार्ययोजना छ । पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजनाबारे आम जनतालाई जागरुक गराउन देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने योजना छ ।

आगामी फागुन महिनालाई प्रशिक्षणको महिनाका रूपमा गतिविधि सञ्चालन गरी पार्टीको सङ्गठन सुदृढीकरण गर्ने भएकाले केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण कसरी सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ । देशभर राजनीतिक कार्यक्रम सञ्चालन गरी स्थानीय तहको निर्वाचनमा पार्टीका सम्पूर्ण शक्ति परिचालन राप्रपाले कार्यक्रम बनाएको छ।

आगामि स्थानीय तहको निर्वाचनमा पार्टीलाई अत्याधिक सफलता हासिल गर्ने  उद्देश्यका साथ महामन्त्री एवं स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजकत्वमा स्थानीय तह निर्वाचन विशेष कार्ययोजना निर्माणका क्रममा रहेकोछ ।