अब नेपालमै बिना शल्यक्रिया मुटुको भल्भ फेर्न सकिने

  • प्रकाशित मिति : March 6, 2022
  • -सरु आचार्य

नेपाल ज्योति फागुन २२-    नेपालमा पहिलो पटक शल्यक्रिया बिना मुटुको भल्भ फेरिएको छ। बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय केन्द्रले शल्यक्रिया बिना मुटुको भल्भ फेरेको हो।

ट्रान्सक्याथेटर इरोटिक भल्भ इम्प्लान्टेशन (टीएभीआई) विधिबाट ८० वर्षीया महिलाको सफलतापूर्वक भल्भ फेरिएको अस्पतालका निर्देशक डा चन्द्रमणि अधिकारीले बताए।  फागुन १६ गते भल्भ फेरिएको ती महिला शुक्रबार अस्पतालबाट डिस्चार्ज भएकी छिन्।

शल्यक्रिया बिना नै मुटुको भल्भ फेर्ने टीएभीआई विधिमा तिघ्राको धमनी अर्थात् फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार क्याथरेटरद्धारा मानव निर्मित भल्भ मुटुभित्र छिराइन्छ। रोग भएको एओर्टिक भल्भको स्थानमा प्रत्यारोपण गरिने डा अधिकारीले बताए। प्रत्यारोपण गरेको भल्भले तत्कालै काम गर्ने हुँदा बिरामीलाई छिटो आराम समेत महसुस हुन्छ।

सन् २००२ मा यो पद्धतिबाट पहिलो पटक फ्रान्समा उपचार गरिएको थियो। अन्य विकसित देशरुमा यस पद्धतिबाट उपचार हुँदै आएपनि नेपालमा भने पहिलो पटक भएको हो।

यसअघि उक्त विधिबाट उपचार गर्न नेपालीहरु भारत जाने गर्दथे। तर नेपालमै यो पद्धतिबाट उपचार सुरु भएपछि भारत जाने बाध्यता हटेको अस्पतालले जनाएको छ।